काठमाडौँ । नेपाली कांग्रेस (देउवा समूह) का युवा नेता पुष्पकुमार शाहीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै वर्तमान सरकारमा पञ्चायतकालमा समेत नभएको ‘मनोपोली’ देखिएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शाहीले बालेन सरकारका कारण अहिले पत्रकार, पेसा–व्यवसायीदेखि आम जनतासम्म डराउनुपर्ने अवस्था सिर्जना भएको बताए । लोकतान्त्रिक जगमा निर्वाचनबाट चुनिएर आए पनि प्रधानमन्त्री शाह संसद्, स्वयं रास्वपा र आम जनताप्रति उत्तरदायी तथा जवाफदेही नबनेको शाहीको भनाइ थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शाहीले भ्रमणअघि राष्ट्रपति र पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरूसँग कुनै परामर्श नगरिएकोमा आपत्ति जनाए । “भारत जानुअघि राष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्री कसैसँग सरोकार नराखी बालेन दिल्ली जानुभयो,” उनले भने, “विगतका सरकारहरूले गरेका सन्धि–सम्झौताहरू यथावत् राखेर वा यदि ती सम्झौता गलत लागेको भए खारेज गरेर उहाँ फर्किनुपर्छ ।”
नेता शाहीले पुराना राजनीतिक दलहरूको बचाउ गर्दै विगतमा कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू सत्तामा रहँदा केही कमजोरी भए पनि धेरै राम्रा कामहरू भएको दाबी गरे । वर्तमान सरकारले लोकतान्त्रिक मूल्यमान्यता र संवादको संस्कृतिलाई बेवास्ता गर्दै एकलौटी ढंगले शासन चलाउन खोजेको उनको आरोप थियो ।




प्रतिक्रिया