आवेग र माहौलले बनेको रास्वपा-बालेन सरकार ‘भ्रमको कूटनीति’मा रमाएको नेता पराजुलीको आरोप


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुदेश पराजुलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारसँग राजनीतिक दृष्टिकोण र कूटनीतिक परिपक्वता नभएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले पुराना राजनीतिक दलहरूप्रतिको आवेग, रिस र एक किसिमको माहौलका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन नेतृत्वको सरकार बनेको टिप्पणी गरे । वर्तमान सरकारले यथार्थपरक कूटनीतिको सट्टा ‘भ्रमको कूटनीति’ गरिरहेको उनको आरोप थियो ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको समीक्षा गर्दै पराजुलीले भ्रमण असफल सिद्ध भएको दाबी गरे । “कूटनीतिमा प्रधानमन्त्री बालेन आलोकाँचो देखिनुभयो, उहाँको भारत भ्रमण उपलब्धिमूलक भएन,” उनले भने, “भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको ‘स’समेत उच्चारण गरिएन ।”

त्यस्तै, नेता पराजुलीले प्रधानमन्त्री शाहको विगतको अडानमाथि समेत प्रश्न उठाए । काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने शाहले प्रधानमन्त्री बनेपछि अहिले किन राख्न नसकेको भन्दै उनले प्रश्न गरे ।

फरक प्रसंगमा नेता पराजुलीले वामपन्थी दलहरूबीचको एकता तत्काल सम्भव नरहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति लक्षित गर्दै उनले ओलीमा रहेको अहंकार र दम्भ नहटेसम्म वाम एकता हुन नसक्ने जिकिर गरे । तर, ओलीले आफ्नो कार्यशैली सच्याएको खण्डमा भने भविष्यमा पुनः एकताको ढोका खुल्न सक्ने पराजुलीको भनाइ थियो ।