सुनकोशी–मरिण आयोजना रोकिए मधेश आन्दोलित हुन्छ : सांसद मनिष झा


८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना अघि नबढे मधेशमा आन्दोलन हुन सक्ने चेतावनी दिएका छन्।

वर्षौंदेखि अन्योलमा रहेको आयोजनाको भविष्यबारे सरकार र सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनले काम अघि बढाउने कार्ययोजना र समयसीमा निर्धारण गर्न पनि आग्रह गरेका छन्।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद झाले आयोजना रद्द भए मधेशमा आन्दोलनबाहेक अर्को विकल्प नरहने बताए।

उनले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुनेबाहेक अर्को कुनै उपाय नै हुँदैन।’

सुनकोशी–मरिण डाइभर्सन मधेश प्रदेशका लागि महत्वपूर्ण बहुउद्देश्यीय आयोजना भएको उल्लेख गर्दै झाले यसको काम प्रभावित हुँदा त्यहाँका किसान तथा सर्वसाधारण निराश बनेको बताए।

आयोजना रोकिएको कारण, अबको कार्यदिशा र निर्माणलाई निरन्तरता दिने योजनाबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ।

करिब ६ वर्षअघि सुरु गरिएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका विभिन्न क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। साथै आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना पनि छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको परियोजनाको ठेक्का रद्द भएपछि यसको भविष्य अन्योलमा परेको छ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते सम्पन्न भए पनि त्यसयता निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै सांसद झाले प्रश्न उठाए।

उनले भने, ‘ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन। यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप स्पष्टता भइदिए राम्रो हुन्थ्यो।’