कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैः कस्ता छन् एजेन्डा ?


काठमाडौँ । १५ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्दै छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, केन्द्रीय सदस्यहरूले पेश गरेका कार्यक्षेत्र र योजनाको फारम तथा मंसिर १ गतेदेखि जारी ‘हामी तयार छौं’ अभियान मुख्य छलफलका विषय रहनेछन्।

महाधिवेशनको ताजा जनादेशपछि बस्न लागेको यो बैठकलाई कांग्रेसभित्रको संगठनात्मक परिचालन र नीतिगत स्पष्टता खोज्ने मञ्चका रूपमा हेरिएको छ। कांग्रेसको विधानअनुसार ४ सहमहामन्त्रीसहित ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार पाएका सभापति गगन थापाले अहिलेसम्म ती पदमा मनोनयन गरिसकेका छैनन्। यस्तो अवस्थामा बस्ने बैठकले नेतृत्वको कार्यशैली र आगामी कदमबारे पनि संकेत दिने अपेक्षा गरिएको छ।

बैठकको कार्यसूचीमा सबैभन्दा व्यावहारिक पाटोका रूपमा शपथकै बेला केन्द्रीय सदस्यहरूलाई दिइएको ‘कार्यक्षेत्र र योजना’सम्बन्धी फारम परेको छ। कुन सदस्यले कुन विभाग वा विषयगत क्षेत्रमा काम गर्न चाहेको हो र कस्तो योजना अघि सारेको छ भन्ने विषयको लेखाजोखा गर्दै कामको बाँडफाँट कसरी अघि बढाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।

यसैगरी, मंसिर १ गतेदेखि सुरु भएको ‘हामी तयार छौं’ अभियानको समीक्षा पनि बैठकको प्राथमिकतामा छ। अभियानले तल्लो तहसम्म कस्तो सन्देश प्रवाह गरिरहेको छ, संगठन परिचालनमा कहाँ कस्ता चुनौती देखिएका छन् र यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रीय समितिमा बहस हुने जनाइएको छ । सँगसँगै बदलिँदो समसामयिक राजनीतिक घटनाक्रममाथि पार्टीको ठोस धारणा बनाउने विषय पनि एजेन्डामा समेटिएको छ।