टुँडिखेलमा कार्यक्रम गर्न अग्रगामी मोर्चाले पाएन ठाउँ 


काठमाडौं । नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले मङ्सिर १० गते घोषणा गर्ने भनिएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

टुँडिखेलमा कार्यक्रम गर्ने तयारी भए पनि दुई महिनाका लागि बुक भइसकेको जानकारी पाएपछि कार्यक्रम सार्नुपरेको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताए।

उनका अनुसार भृकुटीमण्डपमा पनि राजनीतिक कार्यक्रम गर्न नदिइएकाले अब माइतीघरबाट आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ।

यस विषयमा निर्णय गर्न मोर्चाले मङ्सिर १५ गते बैठक बोलाएको छ। उक्त बैठकले आन्दोलन घोषणा गर्ने मिति र कार्यक्रमबारे टुङ्गो लगाउने यादवले जानकारी दिए।

मोर्चाले अहिले विभिन्न ठूला सहरमा सभा तथा सम्मेलन गर्दै आएको छ।