सर्केगाड स्वास्थ्य शिविरबाट ८०४ जना लाभान्वित


हुम्ला, ८ मङ्सिर । जिल्लाको सर्केगाड गाउँपालिकामा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ८०४ जना महिला लाभान्वित भएका छन् ।

महिलाको स्वास्थ्य अवस्था पहिचान, विभिन्न रोगको समयमै निदान तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा २७ जनामा पाठेघर खस्ने समस्या पहिचान भएको थियो ।

स्वास्थ्य संयोजक किरण बुढाथोकीका अनुसार पाठेघर खस्ने समस्या पहिचान भएका ती महिलाको गाउँपालिका, मनोसामाजिक सहयोग तथा अनुसन्धान केन्द्रलगायतका संस्थाको संयुक्त सहयोगमा नि:शुल्क शल्यक्रिया गरिनेछ ।

गाउँपालिका र मनोसामाजिक सहयोग तथा अनुसन्धान केन्द्र, काठमाडौँ र कोलोराडो अमेरिकाको आर्थिक सहयोगमा यही मङ्सिर ६ र ७ गते साँया स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरबाट छिमेकी चङ्खेली गाउँपालिकाका केही महिलाले समेत स्वास्थ्य परीक्षण गराइ लाभ लिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा दीपा चुडाल, डा अरुणा लुइँटेल, डा विश्वराज दवाडी, रेडियोलोजिस्ट डा शिशिराज न्यौपाने स्वास्थ्य परीक्षण गरी बिरामीलाई औषधि प्रदान गरे । ग्रामीण क्षेत्रका महिलालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने र जटिल स्वास्थ्य समस्याको समयमै पहिचान तथा उपचारमा सहयोग गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।