भारतीय ऊर्जामन्त्री खट्टर र धमलाबीच भेटवार्ताः के भयो कुराकानी ?


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा वरिष्ठ पत्रकार ऋषि धमलाले भारतका आवास तथा ऊर्जा मन्त्री मनोहर लाल खट्टरसँग भेटवार्ता गरेका छन्।

नयाँदिल्लीमा भएको भेटवार्ताका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, जलविद्युत् सम्भावना, ऊर्जा व्यापार तथा आगामी दिनमा दुई देशबीच हुन सक्ने सहकार्यका विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री खट्टरले नेपालको नयाँ नेतृत्वप्रति सकारात्मक धारणा राख्दै प्रधानमन्त्री बालेन शाहमा नेपालमा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमता रहेको उल्लेख गरेको धमलाले बताएका छन् ।

छलफलमा नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतीय बजारबीचको अन्तरसम्बन्धलाई मुख्य प्राथमिकता दिइएको थियो। सो अवसरमा मन्त्री खट्टरले नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, नेपालको ऊर्जा क्षेत्रमा भारतीय लगानी विस्तार गर्ने तथा आपसी सहकार्यमार्फत नेपालको विकासमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपालसँग अपार जलविद्युत् सम्भावना र भारतसँग ठूलो बजार रहेकाले आपसी हितका आधारमा सहकार्य अघि बढाउनुपर्नेमा मन्त्री खट्टरले जोड दिएका थिए। नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक विकासको आधार बनाउन भारतीय लगानी, प्रविधि र बजारको उपयोग महत्वपूर्ण हुने विषयमा समेत विचार आदानप्रदान भएको धमलाले बताएका छन् ।