काठमाडौँ, ८ मङ्सिर । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । छलफलपछि समिति सभापति भरतबहादुर खड्काले त्यससँग सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिए ।
लोकतन्त्रको मूल्य, मान्यता विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै उनले त्यसअनुसार काम भए नभएको अध्ययनका लागि कागजात पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको बताए ।
आवश्यक कागजातको अध्ययनपछि समितिले आफ्नो कार्य क्षेत्रका आधारमा काम गर्ने जानकारी दिँदै सभापति खड्काले समिति अख्तियार वा अदालत नभएकाले कार्य क्षेत्रभित्रै रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिएको, डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि ? भनी प्रश्न उठाए ।




प्रतिक्रिया