हेटौँडा औद्योगिक क्षेत्रमा ७९ रोपनी जग्गा भाडामा दिइने


मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न करिब ७९ रोपनी जग्गा भाडामा उपलब्ध गराइने भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय हेटौँडाले बुधबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक उद्योगी तथा उद्यमीबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको २०८३ जेठ २७ गतेको बैठक तथा २०८२ मङ्सिर १४ गते बसेको ४३७औँ बैठकको निर्णयअनुसार जग्गा भाडामा दिन लागिएको हो ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावली, २०८३ अनुसार विद्युत्, पानी, सडक तथा ढलजस्ता आधारभूत पूर्वाधारयुक्त जग्गा प्रतिस्पर्धा र पारदर्शिताका आधारमा भाडामा उपलब्ध गराइने कार्यालयले जनाएको छ । प्रस्ताव प्रक्रियामा सहभागी हुन नेपाल सरकारबाट उद्योग सञ्चालनको इजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

कार्यालयका अनुसार चार स्थानमा रहेका कुल ७९ दशमलव १४ रोपनी जग्गा भाडामा दिन लागिएको छ । जसमा स्थान सङ्केत ‘एस–५५’ को ६४ दशमलव २६ रोपनी र ‘एस–५६’ को ९ दशमलव शून्य एक रोपनी जग्गा रहेका छन् । यी दुवै स्थानमा हाल जङ्गल तथा रुख रहेकाले उद्योग निर्माणका क्रममा रुख कटान गर्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, पहिले फिर्ता आएको खाली जग्गा ‘सी–६८’ को ३ दशमलव १२ रोपनी र औद्योगिक क्षेत्रको विस्तारित भागमा रहेको ‘ए–१४’ को २ दशमलव ७५ रोपनी जग्गासमेत भाडामा उपलब्ध गराइनेछ ।

इच्छुक उद्यमीले सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८३ मङ्सिर ९ गतेदेखि २१औँ दिनभित्र सिलबन्दी प्रस्ताव खरिद गरी २२औँ दिनको दिउँसो १२ बजेभित्र कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ ।

प्रस्ताव पेस गर्ने प्रक्रिया, आवश्यक कागजात तथा अन्य सर्तसम्बन्धी विस्तृत जानकारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हेटौँडा कार्यालयको सूचना पाटी र आधिकारिक वेबसाइट www.izml.gov.np मा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।