९ मंसिर, काठमाडौं। नेपालमा उत्पादन भएका खसी, बोका तथा बाख्रा ठूलो परिमाणमा भारततर्फ जान थालेको भन्दै मासु व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। अवैध रूपमा पशु भारत निर्यात हुने क्रम नरोकिए नेपाली बजारमा मासुको अभाव हुने, मूल्यवृद्धि चर्किने र वर्षौंदेखि यही व्यवसायमा निर्भर व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आउने उनीहरूको चेतावनी छ।
बुधबार व्यवसायीहरुले रिपाेर्टस क्लब,नेपालमा आयाेजना गरेकाे एक पत्रकार सम्मेलनमा बाेल्दै अधिवक्ता ज्ञानेन्द्र दाहालले नेपालमा उत्पादित खसीबोका तथा बाख्रा विभिन्न सीमा नाकाबाट भारततर्फ जाने क्रम बढेको आरोप लगाउँदै तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
उनका अनुसार नेपालका हिमाल, पहाड र तराईमा उत्पादन भएका खसीबोका तथा बाख्रा नेपाली बजारमै खपत हुने व्यवस्था मिलाउनुपर्ने भए पनि अहिले विभिन्न कारणले नेपाली उत्पादन भारततर्फ आपूर्ति भइरहेको छ। यसले स्वदेशी मासु बजारमा प्रत्यक्ष असर पार्न थालेको उनको भनाइ छ।
दाहालले भने, “अहिले नेपालभरिका खसीबोका विभिन्न नाकाबाट भारतमा सप्लाई हुन थालेका छन्। यही अवस्था कायम रहने हो भने नेपाली बजारमा मासुको मूल्य अझै बढ्न सक्छ। मासु नै नपाइने अवस्था आउन सक्छ र व्यवसायीहरू पसल बन्द गर्नुपर्ने स्थितिमा पुग्न सक्छन्।”
दाहालका अनुसार नेपाल मासु व्यवसायी संघको तर्फबाट यस विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत पेस गरिएको छ। जिल्ला प्रशासन कार्यालयले उक्त विषय गृह मन्त्रालयसम्म पुर्याउँदै सम्बन्धित निकायलाई पत्राचार गरेको उनको दाबी छ।
उनले देशभरका सीमा नाकामा रहेका जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा भन्सार कार्यालयलाई तत्काल सक्रिय बनाएर अवैध पशु निर्यात नियन्त्रण गर्नुपर्ने बताए।
“हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौँ। काठमाडौं जिल्ला प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरिसकेको अवस्था छ। अब देशभरका नाकामा रहेका प्रशासन, प्रहरी र भन्सार कार्यालयले तत्काल निगरानी बढाउनुपर्छ,” उनले भने।
दुई दर्जनभन्दा बढी सीमा नाकाबाट भारततर्फ निर्यात भइरहेको दाबी
दाहालले झापाको काँकडभिट्टा, सुनसरीको भन्टाबारी, सिरहाको ठाडी क्षेत्र, धनुषा, महोत्तरी, सर्लाही, कपिलवस्तुको कृष्णनगर, नेपालगञ्जको रुपैडिहा, बर्दियाको गुलरिया, धनगढी र दार्चुलालगायतका विभिन्न सीमा क्षेत्रबाट खसीबोका भारततर्फ जाने गरेको दाबी गरेका छन्।
उनले महोत्तरी र सर्लाहीका विभिन्न सीमावर्ती क्षेत्रसमेत उल्लेख गर्दै रातदिन पशु भारततर्फ लैजाने गतिविधि भइरहेको बताएका छन्। यस्ता गतिविधि नियन्त्रण गर्न नसके नेपाली बजारमा मासुको समस्या हुने उनले बताए ।
स्वदेशी उत्पादनको संरक्षण गर्न सरकारसँग माग
दाहालले स्वच्छ तथा ताजा मासु उपभोक्तासम्म पुर्याउनु र नेपाली व्यवसायीलाई एकीकृत गर्दै व्यवसाय व्यवस्थित बनाउनु नेपाल मासु व्यवसायी संघको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार मासु व्यवसाय केवल व्यापारसँग मात्र सम्बन्धित नभई हजारौँ परिवारको रोजीरोटी र जीविकोपार्जनसँग जोडिएको क्षेत्र हो। नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी बजारको आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको जोड छ।
उनले मासुमा पाइने प्रोटिन तथा अन्य पोषक तत्त्वका कारण उपभोक्ताका लागि यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक परम्परासँग पनि मासु उपभोग जोडिएको बताए।
दाहालले सरकार, सम्बन्धित संघसंस्था र व्यवसायीहरू समयमै सचेत नभए उपभोक्ता तथा व्यवसायी दुवै ठूलो समस्यामा पर्ने चेतावनी दिए।
सरकारले एकातिर स्वदेशी उत्पादन र कृषि क्षेत्रको संरक्षणको कुरा गर्ने तर अर्कोतिर नेपाली बजारमै आवश्यक पशुको आपूर्ति प्रभावित हुने अवस्था आउन दिनु गम्भीर विषय भएको व्यवसायीहरूको तर्क छ।




प्रतिक्रिया