काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट नहटाइएको दाबी गरेका छन्।
बुधबार सर्वोच्च अदालतमा कार्कीले दायर गरेको रिटमाथि भइरहेको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै कँडेलले सरकारले कार्कीलाई थप महत्त्वपूर्ण जिम्मेवारी दिएको जिकिर गरेका हुन्।
‘कारबाही गरिएको होइन, उच्च मूल्यांकन गरेर झन् महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो,’ उनले भने, ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनुपर्ने हो।’
कँडेलले विशेष परिस्थितिका कारण सरकारले कार्कीलाई विशेष भूमिका दिएको तर्क गरे। उनका अनुसार कार्कीसँग रहेको सुरक्षा क्षेत्रको अनुभव उपयोग गर्ने उद्देश्यले उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको हो।
‘सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व हुँदैन। त्यही भएर सरकारलाई उहाँजस्तो अनुभवी सुरक्षा सल्लाहकार आवश्यक पर्यो,’ उनले भने, ‘अहिले पनि उहाँको सेवा सुविधा आईजीपीकै छ।’
कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नु उचित नभएको जिकिर गर्दै कँडेलले यसले सरकारलाई शान्ति सुरक्षा कायम गर्न नदिने अवस्था सिर्जना गर्ने बताए।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका हुन्।




प्रतिक्रिया