९ मंसिर, काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ। स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गतको सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो।
बोर्डका अनुसार अब बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेर उपचार सेवा लिन सक्नेछन्।
यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी उनी बीमामा आबद्ध रहे–नरहेको यकिन गर्नुपर्नेछ। बीमामा आबद्ध भएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिलाई नियमानुसार सेवा उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ।
यसअघि स्वास्थ्य बीमाको सेवा लिन अस्पताल पुग्दा भौतिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो। नयाँ निर्णयसँगै परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई उपचार लिन सहज हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहले नयाँ व्यवस्थाले बीमितलाई अस्पतालमा सेवा लिन थप सहज बनाउने बताए।




प्रतिक्रिया