कांग्रेस कब्जाको रस्साकस्सी : देउवा नझुक्ने, गगन नरोकिने!


९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापाबीच दुरी बढ्दै गएकाे छ । पार्टीको नेतृत्व, आधिकारिकता र संगठनमाथिको नियन्त्रणलाई लिएर दुई पक्षबीच बढ्दै गएको विवाद अब एकअर्कालाई चुनौती दिने तहमा पुगेको छ। देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेका बेला गगनले पार्टी विधानविपरीत गतिविधि गर्ने नेता तथा जनप्रतिनिधिमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।

यसैबीच, बुधबार गगन नेतृत्वको कांग्रेसको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ। आयोगको निर्णयसँगै गगन नेतृत्वको कार्यसमिति दल दर्ता अभिलेखमा अद्यावधिक भएको छ। यसले देउवा पक्षमाथि राजनीतिक तथा संगठनात्मक दबाब थपिएको चर्चा राजनीतिक वृत्तमा छ।

देउवाको अडान : कसैले कांग्रेस कब्जा गर्न सक्दैन

पार्टीभित्रको विवाद चर्किरहेका बेला पूर्वसभापति देउवाले आफूहरू नै नेपाली कांग्रेसको वास्तविक विरासत बोकेको पक्ष भएको दाबी गर्दै आएका छन्।

गत कात्तिक २८ गते ललितपुरमा आफ्नो समूहको समानान्तर जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले कसैले पनि नेपाली कांग्रेसलाई आफूखुसी कब्जा गर्न नसक्ने बताएका थिए।

उनले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूले गगन थापालाई नियमित महाधिवेशन गर्ने जानकारी गराएको तर आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन गरिएको आरोप लगाएका थिए।

देउवाले भनेका थिए, ‘मलाई अब आफ्नो लागि केही चाहिएको छैन। तर जीवन रहेसम्म लोकतन्त्रका लागि लड्ने मेरो कर्तव्य छ। पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीप्रति मेरो जीवनभरको जिम्मेवारी छ।’

उनले नेपाली कांग्रेस जनताको पार्टी भएको र वर्षौंको त्याग, तपस्या तथा संघर्षबाट निर्माण भएको पार्टी कसैले कब्जा गर्न नसक्ने जिकिर गरेका थिए।

देउवा पक्षले यही अडानका आधारमा पार्टीका विभिन्न तहमा समानान्तर अधिवेशन गरिरहेको छ। वडा, पालिका, क्षेत्र र जिल्ला तहका गतिविधिपछि प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइएको छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।

गगनको जवाफ : देउवाले आफ्नो राजनीतिक उचाइ कायम राख्नुपर्छ

देउवाको अभिव्यक्ति र समानान्तर गतिविधिप्रति गगन थापा कडा रुपमा प्रस्तुत भएका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवाको नामै लिएर सार्वजनिक अभिव्यक्तिमा राजनीतिक मर्यादा कायम राख्न आग्रह गरे।

पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका देउवा आफ्नो राजनीतिक उचाइ र प्रतिष्ठाअनुसार प्रस्तुत हुनुपर्ने गगनको भनाइ थियो।

‘मेरो चिन्ता शेरबहादुर देउवाको हो । जीवनको यो मोडमा आइपुग्दा अग्लो ठाउँमा बस्नुहोस्, तल नझर्नुहोस् भन्ने मेरो आग्रह मात्रै हो,’ गगनले बैठकमा भनेका थिए।

देउवाप्रति आफ्नो व्यक्तिगत असन्तुष्टि नभएको उल्लेख गर्दै उनले देउवाले सार्वजनिक मञ्च र विभिन्न भिडियोमा व्यक्त गरेका धारणाप्रति असहमति जनाएका थिए।

‘पाँच पटक प्रधानमन्त्री भएको, दुई पटक सभापति भएको नेताले स्तर कायम राख्नुपर्छ भन्ने मेरो कुरा हो,’ उनले भने।

कारबाहीसम्मको चेतावनी, जनप्रतिनिधिलाई पद छाड्न आग्रह

देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाएपछि गगनले पार्टीको आधिकारिक संरचनाबाहिर रहेर गतिविधि गर्नेहरूलाई विधानअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका तर अर्को पार्टीको गतिविधिमा संलग्न हुने जनप्रतिनिधिले आफ्नो राजनीतिक हैसियतबारे स्पष्ट निर्णय गर्नुपर्ने बताए।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले भने।

उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई लक्षित गर्दै पार्टी सदस्यता कायम राख्ने वा अर्को राजनीतिक बाटो रोज्ने भन्ने निर्णय गर्न आग्रह गरे।

‘तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने अहिलेको पदबाट राजीनामा गर्नुहोला, जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला,’ उनको भनाइ थियो।

यद्यपि आफूले नेताहरूलाई पार्टीबाट निकाल्ने नभनेको स्पष्ट पार्दै उनले विधान र कानुनअनुसार प्रक्रिया अघि बढ्ने बताएका छन्।

‘मैले नेता साथीहरूलाई पार्टीबाट निकाल्छु भनेकै होइन । नेपालको संविधानले पनि दिँदैन, पार्टीको विधानले पनि दिँदैन, नेपालको कानुनले पनि दिँदैन,’ गगनले भनेका थिए।

उनले असन्तुष्ट पक्षका नेताहरूलाई पार्टीभित्रै समेटेर अघि बढ्ने ढोका खुला रहेको पनि बताएका छन्। तर पार्टीको सदस्यता कायम राखेर समानान्तर संगठनात्मक गतिविधिमा लाग्न नपाइने उनको अडान छ।

केन्द्रीय समितिमा पनि कारबाहीको माग

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले देउवा पक्षको समानान्तर महाधिवेशनमा सहभागी भएका जनप्रतिनिधिमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

पार्टीको टिकट, झण्डा र कार्यकर्ताको मेहनतबाट निर्वाचित भएका जनप्रतिनिधि नै पार्टीको वैधानिक महाधिवेशन र आधिकारिक गतिविधिविरुद्ध लागेको उनको आरोप थियो।

‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोगमार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु,’ तिमिल्सिनाले बैठकमा भने।

निर्वाचन आयोगको निर्णयले गगन पक्षलाई संस्थागत बल

कांग्रेसभित्रको शक्ति संघर्षकै बीच निर्वाचन आयोगले बुधबार गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

आयोगको गगन नेतृत्वमा निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र पार्टीको संशोधित विधानलाई दल दर्ता अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरेको हो।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते महाधिवेशनबाट पारित विधान संशोधन, राजनीतिक दस्तावेज तथा अन्य निर्णयसम्बन्धी कागजात निर्वाचन आयोगमा बुझाएको थियो।

सोही कागजात र कानुनी प्रक्रियाका आधारमा आयोगले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको हो।

आयोगको निर्णयपछि गगन नेतृत्वको संस्थापन पक्षलाई आफ्नो संगठनात्मक हैसियत स्थापित गर्न थप बल मिलेको छ। तर देउवा पक्षले भने समानान्तर महाधिवेशनको तयारी रोक्ने संकेत गरेको छैन।

देउवा पक्षका नेता एनपी साउदले आयोगको अद्यावधिक निर्णयले आफूहरूको महाधिवेशनलाई असर नगर्ने दाबी गरेका छन्।

‘हाम्रो महाधिवेशन भइसकेको छैन। हामीले पनि महाधिवेशन सम्पन्न गरेर जान्छौँ। पार्टीको यही नाम (नेपाली कांग्रेस) मा नै महाधिवेशन हुन्छ,’ उनको भनाइ छ।

अब वारपारको संघर्ष ?

निर्वाचन आयोगको पछिल्लो निर्णयपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ। एकातिर गगन नेतृत्वले पार्टीको आधिकारिक संरचना र विधान कार्यान्वयनमा कडाइ गर्ने संकेत गरेको छ भने अर्कोतिर देउवा पक्षले आफ्नो राजनीतिक अस्तित्व र महाधिवेशनको अधिकार नछाड्ने अडान लिएको छ।

गगनले असन्तुष्ट पक्षका नेताहरूलाई संवाद र सहमतिबाट पार्टीमा समेट्न तयार रहेको बताइरहेका छन्। तर समानान्तर गतिविधि र अर्को राजनीतिक संरचनामा संलग्न हुने विषयमा भने उनी कठोर देखिएका छन्।

देउवा पक्ष पनि आफ्नो छुट्टै महाधिवेशनको तयारीबाट पछि हटेको छैन। यस्तो अवस्थामा मंसिर २१ देखि २३ गतेसम्म तय गरिएको देउवा पक्षको महाधिवेशन कांग्रेस विवादको अर्को निर्णायक घटनाका रूपमा देखिएको छ।

अब प्रश्न देउवा पक्षले समानान्तर महाधिवेशनलाई कसरी अघि बढाउँछ र गगन नेतृत्वले त्यसविरुद्ध कस्तो संस्थागत तथा कानुनी कदम चाल्छ भन्ने हो। निर्वाचन आयोगको अद्यावधिकपछि कांग्रेसको नाम, झण्डा, चुनाव चिह्न र आधिकारिक नेतृत्वको विवाद फेरि राजनीतिक तथा कानुनी बहसको केन्द्रमा पुगेको छ।

देउवा र गगनबीचको यो संघर्षले अन्ततः कांग्रेसलाई एकताबद्ध बनाउँछ वा औपचारिक विभाजनतर्फ धकेल्छ भन्ने कुरा भने हेर्न बाँकी छ।