उत्कृष्ट उद्यमी सम्मानित


सिन्धुपाल्चोक, १० मङ्सिर । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो । फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारबाट सम्मान गरिएको छ । रु ७५ हजार राशिसहित फर्मका अध्यक्ष शारदा घलेलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सम्मान गरेको हो ।

सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ । फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पु¥याउँदै आएको छ ।

प्रदेशस्तरमै दोस्रो स्थान हासिल गर्न सफल भएकामा खुसी व्यक्त गर्दै फर्मका सञ्चालक घलेले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ । सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन प्रेरणा मिलेको उनले बताए ।