लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो


लमजुङ, १० मङ्सिर। तिहारपछि लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। चाडपर्वअघि सुनसानजस्तै रहेका पर्यटकीय गन्तव्यमा अहिले पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।

जिल्लाको घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडालगायत क्षेत्रमा पर्यटकको आगमन बढेको छ। पर्यटक बढेसँगै घरबास (होमस्टे), होटल तथा स्थानीय व्यवसाय क्रमशः चलायमान हुन थालेका छन्।

क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा पछिल्लो समय दैनिक १०० देखि १५० जनासम्म पर्यटक आउने गरेको घलेगाउँ होमस्टेका कार्यालय सचिव तथा घरबास सञ्चालक दीर्घराज घलेले बताए। तिहारअघि पर्यटकको आगमन न्यून रहे पनि अहिले बढ्न थालेपछि होमस्टे सञ्चालक उत्साहित भएको उनको भनाइ छ।

समुद्री सतहबाट करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गणेश र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत घरबस्ती र स्थानीय जीवनशैली यहाँका प्रमुख आकर्षण हुन्। घलेगाउँमा देखाइने घाँटु, चुट्का, सोरठी र कृष्णचरित्रलगायत सांस्कृतिक प्रस्तुति पनि पर्यटकका लागि आकर्षण बन्ने गरेका छन्। चिया बगान, तमु सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ, उत्तरकन्या मन्दिर र कोइबो यहाँका घुम्नलायक स्थल हुन्।

विसं २०५७ वैशाख २३ गते १२ घरबाट सुरु भएको घलेगाउँको घरबास कार्यक्रमले ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाएको छ।

बेँसीसहर नगरपालिका–३ स्थित काउलेपानीमा पनि पर्यटकको आगमन बढेको छ। होमस्टे सञ्चालक कवीन्द्र गुरुङका अनुसार अहिले दैनिक ६० देखि ७० जनासम्म पर्यटक आउने गरेका छन्। गाउँको अवलोकनसँगै काउलेपानी देवीको दर्शन गर्न तथा स्थानीय संस्कृति र रहनसहनबारे जानकारी लिन स्वदेशी र विदेशी पर्यटक आउने गरेको उनले बताए।

काउलेपानीमा पर्यटकको आगमन बढेसँगै होमस्टे व्यवसायबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन्। यसले गाउँको आर्थिक गतिविधि बढाउन सहयोग पुगेको छ।

राइनास नगरपालिका–९ स्थित राइनासकोटमा पनि दैनिक ३० देखि ४० जनासम्म पर्यटक पुग्ने गरेको होमस्टे समितिका अध्यक्ष बालसिंह गुरुङले बताए। यहाँ १४ घरमा घरबास सञ्चालनमा छन्।

राइनासकोट ऐतिहासिक कोट, कालिका मन्दिर, कोटेश्वर महादेव, परम्परागत घुमाउने घर र हिमाली दृश्यावलोकनका लागि परिचित छ। यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यसँगै ग्रामीण जनजीवन र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ। पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालक तथा स्थानीय व्यवसायीलाई राहत मिलेको अध्यक्ष गुरुङले बताए।

मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडामा पनि तिहारपछि पर्यटकको चहलपहल बढेको छ। स्थानीय व्यवसायी पूर्णबहादुर गुरुङका अनुसार दसैँपछि केही पर्यटक आउन थाले पनि तिहारपछि आगमन थप बढेको हो। सडकको पहुँच सहज हुँदै गएपछि हरसिङडाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको उनले बताए।

यहाँ आउने केही पर्यटक दृश्यावलोकन गरेर फर्कने गरेका छन् भने केही रात बिताउन पनि आउने गरेका छन्। राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यस क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले पर्यटकलाई आकर्षित गरेको छ।

ग्रामीण पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेपछि स्थानीयस्तरमा सञ्चालित होमस्टे, होटल तथा अन्य साना व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सडक तथा अन्य पूर्वाधारको विकास र प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन सके ग्रामीण पर्यटनबाट स्थानीयको आर्थिक उन्नतिमा थप टेवा पुग्ने देखिन्छ।