काठमाडौँ, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउनुका साथै नेपालको स्वास्थ्य सुरक्षा सुदृढ र पोषण सुधारका लागि सहयोग जारी राखेको जनाएको छ ।
यहाँस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेस्कर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी यसबारे छलफल गरेको दूतावासले जनाएको छ ।
भेटमा गत भदौमा भोटेकोशी नदीमा आएको बाढीपछिको पुनः स्थापना, मानवीय सहायता समन्वय तथा स्वास्थ्य र पोषण क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनः स्थापनाका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत बालबालिका तथा जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।
अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनःस्थापना गर्न एक लाख ७६ हजार अमेरिकी डलर उपलब्ध गराएको छ ।
यसका अतिरिक्त, ‘अमेरिका फस्र्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत एक करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ ।
अमेरिकी सहयोगबाट स्तनपान प्रवर्द्धन तथा शिशु आहारसम्बन्धी सहायता तथा स्वास्थ्य संस्थाको क्षमता सुदृढीकरणमा सहयोग पुग्नेछ । साथै, नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग बढाउन पनि सहयोग गरिने उल्लेख छ ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन गरी प्रभावित समुदायसम्म सहयोग पु¥याउन गरेको प्रयास तथा नेपालमा पोषण क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिएको दूतावासले जनाएको छ ।




प्रतिक्रिया