१० मंसिर, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएका नागरिकलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै यस्तो माग गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा सरकारले सुकुमवासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर लामो समयसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको उल्लेख गरिएको छ।
‘सरकारले सुकुमवासीका घर भत्कायो, व्यवस्थापन र लालपुर्जाको आश्वासन दियो, महिनौँसम्म अनिश्चिततामा राख्यो र आज अस्थायी आश्रयबाट समेत हटाउन खोज्दैछ,’ कांग्रेसले भनेको छ।
सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।
राज्यले नागरिकको पीडा बुझ्नुपर्ने भन्दै कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय उपलब्ध गराउनु सरकारको दायित्व भएको जनाएको छ।
‘राज्य नागरिकको अभिभावक हो। घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या विस्थापन र दमनबाट नभई न्यायपूर्ण तथा दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ।
पार्टीले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबीच, होल्डिङ सेन्टरको व्यवस्थापन तथा सहजीकरणका लागि कांग्रेसले छुट्टै समिति गठन गरेको छ। केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा गठित समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।




प्रतिक्रिया