चार देशमा एनभिडियाका सर्भर ढुवानी रोकियो


वासिङ्टन डीसी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारहरूलाई रोक लगाउन निर्देशन दिएको छ । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ ।

अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । गत साता वासिङ्टनले चिप तस्करी रोक्न र दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीहरूको गतिविधि नियन्त्रण गर्न निर्यात नियम थप कडा बनाएको थियो ।

एफटीका अनुसार अमेरिकी कम्पनी डेल र सुपरमाइक्रोले डाटा सेन्टरका लागि तयार गर्ने सर्भरमा एनभिडियाका चिप जडान गर्दै आएका छन् । यी कम्पनी पनि नयाँ निर्देशनबाट प्रभावित भएका छन् ।

सिङ्गापुरको क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले चिनियाँ कम्पनी बाइटडान्सलाई भाडा सम्झौतामार्फत एनभिडियाका हार्डवेयरमा पहुँच दिने योजना बनाएको थियो । रोक अस्थायी हो वा दीर्घकालीन भन्ने स्पष्ट नभएको अखबारले जनाएको छ ।

अमेरिकी नयाँ नियमले आवश्यक इजाजतपत्रका लागि आवेदन दिन दिइएको ९० दिनको अवधिमा क्षेत्रीय व्यवसायमा ‘अराजकता’ सिर्जना गरेको एक क्लाउड सेवा प्रदायकका कार्यकारीले एफटीलाई बताएका छन् । यस विषयमा प्रतिक्रिया लिन एएफपीले एनभिडिया, डेल, सुपरमाइक्रो, एओलानी र बाइटडान्सलाई सम्पर्क गरेको छ ।

एनभिडियाका चिप अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै चीन पुर्याइएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ । केही अमेरिकी अधिकारीले उनीमाथि बेइजिङका लागि जासुसी गरेको आशङ्का गरेका छन् । एलिस र एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङबिच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ ।

अमेरिका र चीनका प्रविधि कम्पनीको ठूलो लगानीले दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र बनाएको छ । केपीएमजीका अनुसार सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणा र एआईको प्रयोग दस गुणाले बढ्ने अनुमान छ । एजेन्सी