गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, रवि र बालेनलाई निम्तो


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा जुटेका छन्। वर्षौंअघि अदालतमा कानुनी विवाह गरेका उनले अब परम्परागत सांस्कृतिक विधिअनुसार विवाहलाई पूर्णता दिन लागेका हुन्।

निकटस्थ स्रोतका अनुसार गुरुङले आगामी मंसिरमै विवाह गर्ने तयारी गरेका छन्। मंसिर १७ वा १८ गते विवाह समारोह आयोजना हुन सक्ने स्रोतको भनाइ छ।

विवाहका लागि गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निम्तोसमेत दिइसकेका छन्। बुधबार लामिछानेलाई उनकै निवासमा पुगेर भेटेका गुरुङले विवाहमा उपस्थितिका लागि निमन्त्रणा गरेको बताइएको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पनि विवाहमा निम्त्याउने उनको तयारी छ।

गुरुङको गृहजिल्ला गोरखामा दुवै परिवारका सदस्य तथा आफन्तको उपस्थितिमा विवाह समारोह आयोजना गर्ने तयारी रहेको बताइएको छ।

निकटस्थहरूका अनुसार गुरुङले करिब सात–आठ वर्षअघि नै अदालतमा कानुनी विवाह गरेका थिए। त्यसपछि उनकी पत्नी अमेरिका गएकी थिइन्। केही समयअघि मात्रै उनले अमेरिकाको बसाइँ स्थायी रूपमा त्यागेर नेपाल फर्किएको स्रोतको दाबी छ।