खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषणले केबीसीमा जिते एक करोड


काठमाडौं, ११ मंसिर । भारतको महाराष्ट्रस्थित एउटा सामान्य गाउँबाट खल्तीमा जम्मा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका २८ वर्षीय भूषण ठाकरे अहिले करोडपति बनेका छन्। चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा सहभागी भएर उनले एक करोड भारतीय रुपैयाँ जितेका हुन्।

आर्थिक अभाव, मजदुरी गरेर परिवार पाल्ने बुबा र लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी आमाको पीडाबीच हुर्किएका भूषणको सफलताको कथा अहिले चर्चामा छ। उनका लागि यो जित केवल रकम प्राप्त गर्नु मात्र होइन, वर्षौंदेखि परिवारले भोग्दै आएको आर्थिक संकट अन्त्य गर्ने अवसर पनि बनेको छ।

महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका भूषण केबीसीमा सात करोड रुपैयाँको प्रश्नसम्म पुगेका थिए। तर अन्तिम प्रश्नको उत्तर दिन जोखिम नमोली एक करोड रुपैयाँ लिएर खेलबाट बाहिरिने निर्णय गरे। पछि आफूले अनुमान गरेको उत्तर सही भएको थाहा पाए पनि उक्त निर्णयप्रति उनलाई कुनै पछुतो छैन।

बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘केबीसीले मलाई एक करोड जित्ने अवसर दिएको छ। यो रकम पनि मेरा लागि पर्याप्त छ। यसबाट म आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छु।’

आमाले पढाइका लागि बेचेको सुन फर्काउने सपना

भूषणको परिवारमा बुबा, आमा, उनी स्वयं र भाइ कुलदीप गरी चार सदस्य छन्। भूमिहीन मजदुर परिवारमा जन्मिएका उनका बुबाले सानै उमेरदेखि श्रम गरेर परिवारको खर्च धान्दै आएका थिए। आर्थिक अवस्था कमजोर भए पनि उनले छोराहरूको पढाइलाई निरन्तरता दिने प्रयास गरेका थिए।

भूषणले गाउँकै सरकारी विद्यालयबाट १२ कक्षासम्म अध्ययन गरे। त्यसपछि जलगाउँस्थित सरकारी संस्थानबाट उच्च शिक्षा हासिल गरे। उनले इतिहास विषयमा स्नातकोत्तर गरेका छन् भने अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन्।

उनकी आमा शिक्षित छैनन्। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित आमाको अहिलेसम्म आठदेखि नौ पटक शल्यक्रिया भइसकेको छ। परिवारको आम्दानी सीमित भएकाले घरखर्च, आमाको उपचार र छोराहरूको शिक्षाको जिम्मेवारी बुबाले नै सम्हाल्दै आएका थिए।

सन् २०१६–१७ तिर भूषण उच्च शिक्षाका लागि घर छाडेर बाहिरिँदा परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। छोराको पढाइ खर्च जुटाउन उनकी आमाले घरखर्चबाट थोरैथोरै रकम बचाएर सुन किन्ने गर्थिन्। कहिले एक ग्राम, कहिले दुई ग्राम त कहिले तीन ग्राम सुन जम्मा गर्थिन्। तर छोरालाई पढाइका लागि पैसा आवश्यक पर्दा त्यही सुन बेचेर खर्च जुटाउँथिन्।

एक करोड रुपैयाँ जितेपछि भूषणको पहिलो योजनामध्ये आमाका लागि सुनका गहना किनिदिने रहेको छ।

‘त्यसको ऋण कतै न कतै मैले फर्काउनुपर्ने समय आएको छ, त्यो पनि ब्याजसहित। त्यसैले सबैभन्दा पहिले आमाका लागि गहना किनिदिन्छु,’ उनले भनेका छन्।

२४ रुपैयाँबाट एक करोड २४ लाखसम्मको यात्रा

केबीसीको मञ्चसम्म पुग्ने भूषणको यात्रा पनि सामान्य थिएन। कार्यक्रमको टोलीले छनोट भएको जानकारी दिँदै मुम्बई आउन फोन गर्दा उनको खल्तीमा जम्मा २४ रुपैयाँ मात्रै थियो।

यद्यपि कार्यक्रम आयोजकले सहभागीको यात्रा र बसोबासको खर्च व्यवस्थापन गर्ने भएकाले उनलाई मुम्बई पुग्न आर्थिक समस्या भएन।

मुम्बई पुग्दाको अवस्थाबारे उनले भनेका छन्, ‘म मुम्बई जाँदा खल्तीमा २४ रुपैयाँ थियो। मुम्बईबाट फर्किँदा खल्तीमा एक करोड २४ लाख रुपैयाँ थियो।’

उनका लागि यो परिवर्तन केवल पैसाको हिसाब मात्र थिएन। लामो समयदेखि आर्थिक अभावमा गुज्रिएको जीवनमा नयाँ सम्भावनाको ढोका खुलेको थियो।

सानो गाउँमा हुर्किएका र ठूला सहरमा धेरै समय नबिताएका भूषण आफूलाई अन्तर्मुखी स्वभावको व्यक्ति बताउँछन्। केबीसीको मञ्चमा बलिउड अभिनेता अमिताभ बच्चनलाई प्रत्यक्ष भेट्दा उनी निकै आत्तिएका थिए।

‘त्यतिबेला स्वाभाविक रूपमा डर लागेको थियो। मुटुको धड्कन बढेको थियो, खुट्टा अलिअलि काँपिरहेका थिए र पसिना आएको थियो,’ उनले आफ्नो अनुभव सुनाएका छन्।

उनका अनुसार अमिताभ बच्चनले खेल सुरु हुनुअघि सहभागीहरूसँग पाँचदेखि छ मिनेट कुराकानी गरेर सहज वातावरण बनाउने प्रयास गर्छन्। यसले आफूलाई पनि सामान्य अवस्थामा फर्किएर खेलमा ध्यान केन्द्रित गर्न सहयोग पुगेको उनले बताएका छन्।

परिवारको जिम्मेवारीले घर छाडेर थाले यूपीएससी तयारी

भूषण अहिले भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारीका लागि परिवारबाट टाढा भुसावलस्थित छात्रावासमा बस्दै आएका छन्। केही उपलब्धि हासिल नगरेसम्म घर नफर्किने संकल्पसहित उनी अध्ययनमा जुटेका थिए।

पढाइमा पटकपटक अवरोध आउनु र परिवारमाथि निर्भर रहनुपर्दा आफूलाई कमजोर महसुस हुन थालेपछि उनले घरबाट टाढिएर आफ्नै खुट्टामा उभिने निर्णय गरेका थिए।

‘जवान छोरा भएर पनि केही गर्न नसकेको जस्तो लाग्थ्यो। पढाइ पनि निरन्तर हुन सकेको थिएन। बीचबीचमा पढाइमा अन्तराल आइरहेको थियो। कतै न कतै म परिवारमाथि बोझ बन्दै गएको महसुस गर्न थालेको थिएँ,’ उनले भनेका छन्।

परिवारबाट टाढा बसेर पढिरहेका बेला आमाको स्वास्थ्य बिग्रिँदा समेत उपचारमा सहयोग गर्न नसकेको अवस्थाले उनलाई थप चिन्तित बनाएको थियो।

अब एक करोड रुपैयाँ जितेपछि उनको पहिलो प्राथमिकता परिवारको जीवनस्तर सुधार्नु रहेको छ। विशेषगरी जीवनभर मजदुरी गरेर परिवार पाल्दै आएका ५५ वर्षीय बुबालाई अब काम गर्न नपर्ने अवस्था सिर्जना गर्ने उनको चाहना छ।

‘अबदेखि बुबालाई मजदुरी गर्न दिने छैन। बुबा पनि विद्यालय जानुभएको थिएन, आमा पनि पढेलेखेकी हुनुहुन्न। दुवैले निकै सानै उमेरदेखि काम गर्न थाल्नुभएको थियो,’ भूषणले बताएका छन्।

अब राम्रो संस्थानबाट यूपीएससीको तयारी गर्ने

एक करोड रुपैयाँ जितेपछि भूषणले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिने योजना बनाएका छन्।

उनी अब राम्रो सहरमा गएर उत्कृष्ट कोचिङ संस्थानबाट यूपीएससी परीक्षाको तयारी गर्ने सोचमा छन्। यसबाट प्रशासनिक सेवामा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न थप सहयोग पुग्ने उनको अपेक्षा छ।

महाराष्ट्रको एउटा सामान्य गाउँबाट २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषणको कथा अहिले एक करोडको जितमा मात्रै सीमित छैन। पढाइका लागि सुन बेच्ने आमाको त्यागको सम्मान गर्ने, जीवनभर मजदुरी गरेका बुबालाई विश्राम दिने र आफ्नै भविष्य निर्माण गर्ने उनको योजनाले यो सफलतालाई परिवारको जीवन परिवर्तन गर्ने अवसरका रूपमा अघि सारेको छ।