आजको मौसम : देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने


काठमाडौं, ११ मंसिर । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभाग तथा देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

यसैगरी, कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने अनुमान गरिएको छ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार भोलि बिहान उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।