काठमाडौँ । काठमाडौँको बौद्ध क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रा सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्धमा बस्दै आएका ४९ वर्षीय टासी लामा रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार लामाको घरमा खानतलासी गर्दा २४ लाख ४८ हजार रुपैयाँ नेपाली नगद फेला परेको थियो । त्यसैगरी, उनको साथबाट १ हजार ७६७ चिनियाँ युआन, १ हजार १०० अमेरिकी डलर र २०० सिंगापुर डलरसमेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार लामाको साथबाट तिब्बतीयन शरणार्थी परिचयपत्रसमेत फेला परेको छ । अनुसन्धानका क्रममा उनले फरक–फरक विवरण पेस गरी दुईवटा नेपाली नागरिकता लिएको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ ।
बिहीबार पक्राउ परेका लामामाथि स्रोत नखुलेको रकम तथा दोहोरो नागरिकतासम्बन्धी विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया