देउवा समूहको समानान्तर गतिविधिबीच शाहीको अपिल : ‘सबै जुटौँ, कोही नफुटौँ’


काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको ध्रुवीकरणबीच सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि तीव्र पारिरहेका बेला शाहीको यस्तो धारणा बाहिर आएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान पार्टी तयार रहेको सन्देश दिएका छन्। ‘सबै मिलाएर लिन कांग्रेस तयार छ, सबै जुटौँ कोही नफुटौँ,’ उनले लेखेका छन्। १४ औँ महाधिवेशनमा देउवा समूहबाटै सहमहामन्त्रीमा निर्वाचित भएका तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले आन्तरिक विभाजन रोक्न नेतृत्व र कार्यकर्तालाई अपिल गरेका हुन्।

पार्टीको आन्तरिक एकताको प्रसंगसँगै सहमहामन्त्री शाहीले सरकारको पछिल्लो कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन्। होल्डिङ सेन्टरबाट सुकुम्बासी नागरिकलाई हटाउन जारी गरिएको सरकारी सूचना र निर्देशनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको उनको ठहर छ।

उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित नहुने शाहीको भनाइ छ।