मन्त्री महावीर पुनको राजीनामा माग गर्दै विरोध प्रदर्शन


११ मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन् । सरोकारवालासँग कुनै छलफल नगरी अध्यादेश ल्याइएको र कर्मचारीका सुझावलाई बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार प्रतिष्ठानको परिसरमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको नैतिक जिम्मेवारीका आधारमा तत्काल राजीनामा माग गरेका छन् ।

कर्मचारीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यससँग सम्बन्धित नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको आरोप लगाएका छन् । सरोकारवालासँग पर्याप्त छलफल नगरी कानुनी व्यवस्था अघि बढाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने र विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने प्रयास स्वीकार्य नहुने बताए ।

उनले नयाँ व्यवस्थाले दक्ष जनशक्तिको पलायनलाई प्रोत्साहन गर्न सक्ने भन्दै विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्यलाई ध्यानमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए । देशको विज्ञान तथा अनुसन्धानको दीर्घकालीन दिशा तय गर्ने गरी विज्ञान नीति बनाउनुपर्ने उनको भनाइ थियो ।

कँडेलले वैज्ञानिकमैत्री नभएको अध्यादेश तथा नियमावली तत्काल खारेज गर्नसमेत माग गरे ।