थुनामुक्त भएका टोपबहादुर रायमाझी भन्छन्: देश कसरी उँभो लगाउने भन्ने सिकेर आएँ


काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले जेल जीवनबाट आफूले धेरै कुरा सिकेर आएको दाबी गर्दै देश विकास कसरी गर्ने र मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने आत्मविश्वास बढेको बताएका छन् ।

शुक्रबार गृहजिल्ला अर्घाखाँची पुगेका रायमाझीले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिए पनि भट्टीमा खारिएर स्टिल बनेर निस्किएको टिप्पणी गरे ।

‘भट्टीमा हालेर खरानी बनाउन खोजिएको थियो, भट्टीमा खारिएर स्टिल भएर आएको छु,’ उनले भने ।

जेल बसाइले आफ्नो आत्मविश्वास र क्षमता थप बढाएको दाबी गर्दै रायमाझीले पहिले आँट नआउने विषयमा अहिले आत्मविश्वास बढेको बताए ।

‘हिजो आँट आउँथेन, आज आएको छ । देश विकास कसरी गर्नुपर्छ, देश कसरी उँभो लगाउने भन्ने शक्ति बढ्यो, सिकेर आएँ,’ उनले भने ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी गत कात्तिक अन्तिम साता थुनामुक्त भएका थिए ।