काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन पाँचवटा उपसमितिका संयोजक मनोनयन गरेको छ ।
१५औँ केन्द्रीय महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न उपसमितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन् ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रचारप्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।
त्यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन् ।
यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया