देउवा समूहको महाधिवेशनमा रुख र चारतारे झण्डा प्रयोग रोक्न कांग्रेस निर्वाचन आयोग जाने


११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ ।

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो ।

कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिए ।

देउवा समूहले भने पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ ।

उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।