नयाँदिल्ली, ११ मङ्सिर । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।
अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो ।
भारतीय ओलम्पिक सङ्घ (आइओए) ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण गर्दै गुजरातको अहमदाबादमा ओलम्पिक आयोजना गर्ने आफ्नो योजना प्रस्तुत गरेको थियो ।
आइओएका प्रमुख कार्यकारी रघुराम अय्यरले प्रस्तुतीकरण निकै राम्रो भएको बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले आइओसीसँगको छलफल व्यापक स्तरमा भएको जानकारी दिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा रहेको अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने तयारी गरिरहेको छ । यसलाई सहरको सङ्गठनात्मक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतसहित जर्मनी, हङ्गेरी, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की गरी सात देशले रुचि देखाएका छन् ।
यद्यपि, भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास भारतीय ओलम्पिक सङ्घभित्रको आन्तरिक विवादबीच अघि बढिरहेको छ । यसै महिनाको सुरुमा आइओसीले प्रशासनिक समस्या समाधान गर्न भारतीय सङ्घलाई चेतावनी दिएको थियो । निर्वाचन प्रक्रियामा ठूलो धाँधली भएको आरोप लगाएपछि सङ्घकी अध्यक्ष पीटी उषाले डिसेम्बरमा पुनः निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
अय्यरका अनुसार भारत अहिले आइओसीसँग निरन्तर संवादको चरणमा छ । यो चरण सफलतापूर्वक पार गरेमा आगामी वर्ष मार्च वा अप्रिलमा हुने रणनीतिक संवादमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
उहाँले ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजना गर्न केन्द्र सरकार, राज्य सरकार, स्थानीय निकाय र खेलकुद सङ्घहरूको पूर्ण समर्थन आवश्यक पर्ने बताए ।
सन् २०२८ को लस एन्जलस ओलम्पिकपछि वा सन् २०२९ को सुरुतिर सन् २०३६ को ओलम्पिक आयोजकबारे अन्तिम निर्णय हुन सक्ने उनले बताए । रासस




प्रतिक्रिया