१३ मङ्सिर, तुलसीपुर (दाङ) । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । सडक साँघुरो र कच्ची हुँदा पर्यटक तथा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
छिल्लीकोट पुग्ने सडक वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । सडकको अवस्था खराब हुँदा आवतजावतमा कठिनाइ हुने गरेको स्थानीय प्रविर पुनले बताए । पर्यटकीय क्षेत्र भए पनि सडकको अवस्था सुधार हुन नसक्दा पर्यटकलाई समस्या भइरहेको उनको भनाइ छ
छिल्लीकोट पुग्न दूधरास–सङ्ग्राम र विजौरी–स्यालापानी गरी दुईवटा सडक छन् । तीमध्ये विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक स्तरोन्नतिका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ विनियोजन भएको हो । उक्त बजेटबाट सडक कटिङ र नाला निर्माण गरिनेछ । बजेटले कालोपत्र गर्न नपुग्ने भएकाले तत्काल सडक विस्तार र नाला निर्माणको काम मात्रै हुने उनले बताए ।
पर्यटकीय क्षेत्र भएकाले छिल्लीकोट पुग्ने सडक कालोपत्र गर्न आवश्यक रहेको अध्यक्ष योगीको भनाइ छ ।
हाल दुवै सडकबाट छिल्लीकोट पुग्न पर्यटकले सास्ती खेप्नुपरेको छ । दूधरास हुँदै जाने सडक सोनापुर सिमेन्ट उद्योगले निर्माण गरेको हो । उक्त सडकमा उद्योगका लागि चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गर्ने भएकाले पर्यटकलाई असहज हुने गरेको छ ।
त्यस्तै, विजौरी–स्यालापानी हुँदै जाने सडक निकै उकालो र साँघुरो छ । दुईवटा गाडी एकैपटक आवतजावत गर्नसमेत कठिन हुने गरेको छ । सडकको अवस्था खराब हुँदा आफूले पनि समस्या भोग्नुपरेको आन्तरिक पर्यटक रेशम खत्रीले बताए । सडक विस्तार भए पर्यटकलाई सहज हुने उनको अपेक्षा छ ।
सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि स्थानीय खुसी भएका छन् । विजौरी–स्यालापानी सडकको अवस्था सुधार भए छिल्लीकोट पुग्न केही सहज हुने स्थानीय पुनले बताए ।
छिल्लीकोट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्र हो । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले शासन गरेको प्राचीन दरबारका भग्नावशेष यहाँ अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकका लागि प्रसिद्ध कालिका र मालिका देवीका मन्दिर पनि यहाँ छन् ।
समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा रहेको छिल्लीकोटबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जीपलाइन निर्माण भए पनि सञ्चालनमा आएको छैन । होमस्टे सञ्चालनमा छन् भने व्यावसायिक लगानीसमेत बढ्दै गएको छ ।
पर्यटकीय पूर्वाधारको विकाससँगै छिल्लीकोटमा पर्यटकको आगमन र स्थानीयको आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।रासस




प्रतिक्रिया