काठमाडौं २७ असोज ।
हिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ ।
चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले-माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो ।
यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले-माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् ।
भट्टराईनिकट स्रोतका अनुसार दाहाल-ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो । माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ । ‘पार्टीले गोरखाको दुईवटै क्षेत्र नछोड्ने निर्णय नै गरेको छ, अझ २ नम्बरमा त वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ,’ माओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले अन्नपूर्णसँग भने, ‘यो क्षेत्र बाबुरामलाई माओवादीले छोड्न सक्दैन ।’
बरु गठबन्धन छोड्ने, गोरखा २ नछोड्ने भट्टराईको अडान, निर्णय लिन बोलाइयो सचिवालय बैठक वामगठबन्धन वैचारिक विषयमा भन्दा पनि भागबन्डामा अल्झिएको, पार्टी एकता संयोजन समितिले बनाएको क्षेत्र निर्धारण कार्यदलमा राखिएका आफ्नो पार्टी नेतालाई कार्यदल बैठकमा राख्ने हो र भन्दै अपमानित गरिएको तथा गठबन्धन बनेयता पार्टीसँग कुनै छलफलसमेत नगरिएको भन्दै नयाँ शक्तिले असन्तुष्टि जनाएको थियो ।
नयाँ शक्तिले गठबन्धनसँग प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ प्रतिशत निर्वाचन क्षेत्र माग गरेको थियो । सुवेदीका अनुसार नयाँशक्तिले गोरखा २, रसुवा, काठमाडौं १०, कैलालीको ३ र ४, झापा, मकवानपुर र रुपन्देही, उदयपुरको एक-एक क्षेत्र तथा तेहथुम र खोटाङमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा टिकट माग गरेको थियो ।
माओवादी केन्द्र एमालेभन्दा पनि अनुदार देखिएको आरोप नयाँ शक्तिले लगाएको छ । माओवादीले गोरखा- २ को साटो भट्टराईका हकमा अन्य जिल्लामा एउटा क्षेत्र दिन सकिए पनि अन्य सिट दिन नसकिने अडान लिएको भन्दै नयाँ शक्ति माओवादीसँग आक्रोसित बनेको छ । एमाले अध्यक्ष ओलीले पनि गठबन्धनभित्रको आकांक्षीको चापका बीच नयाँ शक्तिले अपेक्षा गरेअनुसार धेरै क्षेत्र दिन नसकिने संकेत गरेपछि नयाँ शक्तिले एमाले-माओवादीले आफूहरूलाई अपमानित गर्न खोजेको ठहर गरेका हुन् । नयाँ शक्ति एमालेको निर्वाचन चिह्न सूर्य लिएर आगामी निर्वाचन लड्न सहमत भएको थियो ।
बिहीबार उक्त पार्टीका उपलब्ध नेताहरूको भट्टराई निवासमा बसेको अनौपचारिक बैठकले एमाले-माओवादीसँग सम्मानजनक व्यवस्थापनका लागि अन्तिमपटक कुराकानी गर्न नेता भट्टराईलाई नै जिम्मा दिएपछि सोही छलफलका आधारमा भट्टराईले ओली-दाहालसँग कुरा गरेका हुन् । भट्टराईले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय तथा कार्यकारी समितिको बैठक बोलाएका छन् । आफूहरूको मागअनुसार गोरखा २ नपाउने र अन्यमा पनि अपहेलित गर्ने हो भने बरु गठबन्धन छोड्ने, अडान नछोड्ने डा. भट्टराईले बताएका छन् ।
अन्नपूर्णपोष्टबाट




प्रतिक्रिया