जुवा खेल्नेहरुको अखडा बन्दै तनहुँ, डुम्रे र दमौलीबाट ३–३ लाख नगदसहित १३ जना प्रक्राउ


३१ असोज, तनहुँ । प्रदेश नम्बर चारको तनहुँ जिल्लामा तिहार लागेसँगै जुवा तास खेल्नेहरु बढ्दै गएका छन् । केही दिनअघि जिल्लाका सदरमुकाम दमौलीबाट ३ लाखसहित ६ जना जुवाडे पक्राउ परेका थिए । गएको आइतबार पुनः तनहुँको प्रमुख बजार मानिने डुम्रेबाट ३ लाखभन्दा बढि नगदसहित ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले गोप्य रुपमा जुवा तास खेलिरहेको खालबाट ठुलो परिणामको नगद सहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे बजार स्थित भक्त बहादुर गौतमको घरमा अवैध रुपमा जुवा तास खेल भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी टोली खटी लुकिछिपी जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले आइतबार राती नै छापा मार्दा नगद सहित ७ जना पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार जुवाखालबाट नगद ३ लाख २२ हजार ४ सय ५० रुपैयाँ, तास १ सय ५९ पत्ती, कम्मल १ थान र दरी १ थान समेत बरामद गरेको छ ।

यसरी जुवा खालबाट पक्राउ पर्नेहरुमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने घरधनी वर्ष ४२ का भक्त बहादुर गौतम, बन्दिपुर १ बस्ने वर्ष ४२ को अमर बहादुर गुरुङ, बन्दिपुर १ बस्ने वर्ष ३५ को रमेश खड्का, बन्दिपुर १ बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठ, बन्दिपुर १ बस्ने वर्ष २९ को शिव तामाङ, बन्दिपुर १ बस्ने वर्ष ५२ को बुद्द श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २८ को नन्दराज कुमाल रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुलाई सोमबार जुवा ऐन २०२० अन्तर्गत कानुनी कारवाही प्रक्रिया अघि बढाइने तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले बताए । नेपालीहरुको दोस्रो महान पर्व दीपावली नजिकिदै गर्दा जुवा तास खेल्ने संम्भावित क्षेत्रहरुमा तनहुँ प्रहरीले कडाई गर्न थालेको छ ।

कडाइ गर्ने थालेसंगै जुवाडे पक्राउ पर्न थालेका छन । गत शुक्रबार तनहुँ सदरमुकाम दमौली बाट झण्डै ३ लाखसहित ६ जना जुवाडे जुवाखालबाट पक्राउ परेका थिए ।