चुनावको सबै तयारी पूरा, कुनै पनि बाहानामा चुनाव स्थगित नहुने


कात्तिक ५, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मंसिर १० गते हुने चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले चुनाव हुने ३२ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कर्यालय स्थापना भइसकेको बताए ।

मतपत्र छाप्ने काम यस अघि नै सकिएको जानकारी दिदै यादवले अब निर्वाचन तालिका अनुसार काम गर्नका लागि सबै प्रक्रिया र तयारी पूरा भएको बताए । मतदाता शिक्षा दिने काम पनि प्रक्रियागत ढंगबाट भइरहेको यादवले जानकारी दिए । “हामी नुमना मतदान पनि व्यापक रुपमा गछौँ ।” यादवले भने ।
मतदाता शिक्षाका लागि प्रभावकारी बनाउनका लागि निर्वाचन आयोगका कर्मचारीहरु घरघरमा खटिएको दाबी यादवले गरे । उम्मेदवार स्वयम् र पत्रकारहरुले पनि आफ्नो तर्फबाट मतदाता शिक्षाका लागि सहयोग गरिदिनुपर्ने यादवको भनाई छ ।

मतदानको पर्यवेक्षणका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरु पनि नेपाल आउने जानकारी आयोगले दिएको छ । कार्टर सेन्टर, युरोपेली युनियन, जापानका संस्थाहरु लगायतले चुनावको पर्यवेक्षण गर्ने यादवले बताए ।

सार्क देशहरुलाई पनि आयोग आफैले पर्यवेक्षणका लागि आमन्त्रण गरेको जानकारी यादवले दिए ।
प्रत्यक्ष र समानुपातिक चुनावका लागि दुईवटा छुट्टाछुट्टै मतपत्र चाहिने भन्ने आवाज उठे पनि अब त्यो सम्भव नरहेको यादवले बताए । दलहरुको छलफलपछि सहमतिका आधारमा कस्तो मतपत्र बनाउने भन्ने टुङ्गो लगाइएकाले अब यस विषय कुनै विवाद नरहने यादवको दाबी छ ।
कुनै पनि बाहानामा चुनाव स्थगित नहुने यादवको स्पष्टोक्ति छ ।