८ कात्तिक, काठमाण्डौ । आगामी प्रतिनिधीसभा चुनावका लागि सङ्खुवासभा जिल्लाबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिपक खड्का र वाम गठबन्धनका राजेन्द्र गौतमले जनताको हितमा काम गर्ने गरी विभिन्न एजेण्डा पेश गरेर चुनाव जित्ने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै दुवै उम्मेदवारले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दिपक खड्काले संखुवासभा जिल्ला पर्यटकीय, उर्जा र छिमेकी मुलुक चिनसँगको सिमा नाका जोडिएको हुनाले सम्भावनाहरु धेरै भएको बताए । सम्भावनालाई सदुपयोग गरेर विकास गर्न सकिने औँल्याउँदै खड्काले त्यसतर्फ आफु केन्द्रित हुने बताए ।
पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिने प्रतिवद्धता खड्काको छ । उत्तर–दक्षिण जोड्ने राजमार्ग निर्माणका लागि आफु प्रतिबद्ध रहेको खड्काको दाबी छ ।
“अरुण तेस्रो जस्तो महत्वपूर्ण जलविद्युत अयोजना संखुवासभामा नै पर्छ । अरुणसँगै अरु थुप्रै खोलाबाट उर्जा उत्पादन गर्न सकिने सम्भावना छ । आर्थिक विकास र उर्जा आवश्यकता परिपूर्ति गर्न म केन्द्रित हुनेछु ।” खड्काले भने ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले अरुण तेस्रो निर्माण प्रक्रिया अगाडि बढाएको दाबी गर्दै खड्काले अब त्यसलाई निरन्तरता दिएर सम्पन्न गर्ने बताए ।
लालिगुरासको राजधानी मानिने संखुवासभा जिल्लामा पर्यटन क्षेत्रको विकासको सम्भावना पनि प्रशस्त भएको बताउँदै खड्काले त्यसतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको बताए ।
त्यस्तै वाम गठबन्धनबाट उम्मेदवा बनेका राजेन्द्र गौतमले संखुवासभा जिल्लाको पूर्वाधार विकासको सबैभन्दा महत्वपूर्ण कुरा सडक भएको औँल्याएका छन् । विराटनगर–किमाथाङ्का राजमार्ग जिल्लाको विकासका लाग मूल मेरुदण्ड भएकोले त्यसलाई निर्माण गर्नमा आफू प्रतिवद्ध रहेको गौतमको भनाई छ ।
दोस्रो प्राथमिकतामा गौतमले चिनसँगको नाका र अन्य सडकहरुलाई राखेका छन् ।
लेकुवा–तेम्लिङटार, वसन्तपुर–टुटे देउराली हुँदै ताप्लेजुङको सदरमुकाम जाने सडक जस्ता महत्वपूण मार्ग विस्तार गर्ने गौतमको लक्ष्य छ । त्यस्तै अरुण तेस्रो जलविद्युत आयोजनालाई साकार रुप दिनका लागि आफुले पहल गर्ने बताए । अरुणबाहेक अन्य नदीहरुको पनि सदुपयोग गर्ने बताउँदै गौतमले पर्यटन क्षेत्रको सम्भावनालाई पनि उजागर गर्ने बताए ।
धार्मिक पर्यटन, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका काम अगाडि बढाउने गौतमको भनाई छ ।




प्रतिक्रिया