८ कात्तिक, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँगको चुनावी तालमेल छलफलकै चरणमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता महतोले तालमेलका बारेमा वार्ता जारी रहेको जानकारी दिदै २ दिनभित्रमा टुङ्गो लगाउने बताए ।
फोरम र राजपाबिचमा कुनै विवाद नभएको दाबी गर्दै महतोले चुनावी तालमेल सफल हुने बताएका छन् । आवश्यकता अनुसार दुई दलबिचमा समझदारी हुनुपर्ने औँल्याउँदै नेता महतोले मिलेर चुनावमा जान फोरमलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेससँग पनि चुनावी तालमेलका बारेमा कुरा भइरहेको जानकारी महतोले दिए । वाम गठबन्धन बनिसकेको अवस्थामा लोकतान्त्रिक गठबन्धनको आवश्यकता देखिएकाले कांग्रेससँग पनि गठबन्धन गरेर चुनावमा जानुपर्ने महतोको तर्क छ ।
मधेशकेन्द्रित तालमेल गर्नुपर्ने महतोको भनाई छ । मधेशमा आफ्नो दलको जनमत धेरै भएकाले राजपाले कांग्रेससँग सिट संख्या मागेको नभै आफुहरुले कांग्रेसलाई हैसियत अनुसार सिटसंख्या दिने महतोको भनाई छ ।
२ नम्बर प्रदेशमा कांग्रेसको प्रभाव कम भएकाले एक्लै चुनाव लड्न सक्ने अवस्था नरहेको महतोको दाबी छ ।




प्रतिक्रिया