९ कात्तिक, काठमाण्डौ । नेकपा एमालेका नेता भीम रावलले दिपक मनाङ्गेलाई टिकट नदिइएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता रावलले बाहिर जे समाचार आएको छ, त्यस विषयमा पार्टीभित्र छलफल गरिने बताए ।
“मैले विहान समाचार सुनेँ । त्यो जिल्लामा के भएको हो भनेर छलफल गछौँ ।” रावलले भने ।
मनाङको प्रदेश क्षेत्र २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एमालेले मनाङ्गेलाई नै उम्मेदवार बनाएको पुष्टी भइसकेको छ । तर रावलले भने त्यसको बचाउ गर्दै मनाङ्गेलाई टिकट नदिइएको दाबी गरेका हुन् ।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि एमालेले मनाङ्गेको नाम काटेको थियो । तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । यद्यपी एमालेका आधिकारिक उम्मेदवारले स्वतन्त्र उम्मेदवार मनाङेलाई सघाउने भएपछि एमालेको रणनीति खुलस्त भएको छ ।
“मैले त्यो बुझ्नुपर्छ । दिपक मनाङ्गेको बारेमा जुन प्रसङ्ग आएको थियो, त्यो हुन सक्दैन भनेर स्थायी कमिटीले प्रष्ट शब्दमा भनेको छ ।” रावलले भने ।
खण्डा र दीपक नातामा दिदीभाइ हुन् ।
यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ ।




प्रतिक्रिया