कांग्रेसका अधिकांश शीर्ष नेताको निर्वाचन क्षेत्र यस्तो छ, रामचन्द्र पौडेल तनहुँ १ बाट, गोविन्दराज जोशीले के गर्लान ?


९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अधिकांश शीर्ष नेताहरुको चुनावी क्षेत्र टुङ्गो लगाएको छ । विहिबार बसेको संसदीय बोर्डको बैठकले शीर्ष नेताहरुको टिकट विवतरण गरेको हो । बोर्डले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको छ भने अन्य केही नेताहरुको पनि निर्वाचन क्षेत्र तोकेको छ ।

कांग्रेस नेता गोविन्दराज जोशीको विरोधका बीच नेपाली कांग्रेसले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता पौडेललाई उम्मेदवार बनाउने भएको हो ।
पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि तनहुँ १ को टिकटको दाबी गर्दै आएका छन् । आजको निर्णयसँगै जोशीले त्यस क्षेत्रबाट टिकट नपाउने निश्चित भएको छ ।
टिकट नपाए जनताले दिएको टिकटबाट भए पनि आफु चुनावमा उठिछाड्ने चेतावनी जोशीले दिदै आएका छन् ।

यस्तै काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र ५ बाट प्रकाशशरण महतले टिकट पाएका छन् । गोपालमान श्रेष्ठ स्याङ्जा २, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् भने मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य ४ र शेखर कोइराला ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।

तीर्थ लामा काभ्रे १ बाट, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट, फरमुल्लाह मन्सुर वारा ३ बाट, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १ र नारायणबहादुर कार्की २ बाट चुनाव लड्नेछन् ।