कात्तिक १४, काठमाण्डौ । सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफुले जनताको हितमा काम गर्ने आश्वासन दिदै चुनाव जित्ने दाबी गरेका छन् ।
सिन्धुपाल्चोकबाट वाम गठबन्धनले उम्मेदवार बनाएका शेरबहादुर तामाङले आफू वामपन्थी र प्रजातान्त्रिक दुवै भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उम्मेदवार तामाङले वाम गठबन्धन पनि प्रजातान्त्रिक नै भएको दाबी गरेका छन् ।
नेपालका सबै कम्युनिष्टहरु लोकतान्त्रिक भएको तर्क तामाङले गरेका छन् । कांग्रेसले मात्र नभै वामपन्थीहरुको बलमा लोकतान्त्रिक संविधान बनाइएको तामाङको दाबी छ ।
सिन्धुपाल्चोकमा आफु समृद्धिको एजेण्डा बोकेर चुनावमा जाने बताउँदै तामाङले अहिलेसम्म सिन्धुपाल्चोकमा विकास हुन नसकेको उल्लेख गरेका छन् । लामो समय नेपाली कांग्रेसको नेतृत्व, पञ्चायतको नेतृत्व र निरङ्कुश शाषनका कारण उक्त जिल्लाको मात्र नभै देशकै विकास हुने नसकेको आरोप तामाङको छ ।
चिनसँगको तातोपानी नाका खुलाउनुपर्नेमा जोड दिदै तामाङले कांग्रेस नेतृत्वको सरकारले कुनै पहल नगरेको आरोप लगाए ।
यस्तै सोही क्षेत्रका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले आफुले जित्ने २ वटा आधार प्रस्तुत गरेका छन् ।
“एउटा मैले ज्यादै धेरै विकासका काम मैले सिन्धुपाल्चोकमा गरेको छु । दोस्रो कुरा त्यहाँका मान्छेले मलाई नै मन पराउँछन् । मैले नै त्यहाँको प्रतिनिधित्व गर्नुपर्छ भन्ने जनताको माग छ ।”
सिन्धुपाल्चोकमा खानेपानी, विजुली, सिँचाई, बाटो, पुल लगायतका भौतिक विकासको विकास आफुले गरेका राणाको दाबी छ । जनताले आफ्नो कामको मूल्याङ्कन गर्ने राणाको विश्वास छ ।
यद्यपी त्यहाँका जनताको जीवनस्तर उकास्न भने नसकिएको राणाको स्विकारोक्ति छ । वाम गठबन्धनको उम्मेदवारहरुलाई दुईपटक मौका मिलिसके पनि विकासका काम गर्न नसकेको आरोप राणाको छ । चुनावमा पराजित भए पनि आफू भूकम्पका बेला जनताको सेवामा खटिएको तर जित्नेहरुले केही नगरेको राणाको जिकिर छ ।
“सिन्धुपाल्चोकको समृद्धि र विकासलाई अँगालेर त्यहाँका जनतालाई माया गर्ने मान्छे म सिवाय अरु कोही पनि छैन ।” राणाले भने ।
नेपाली कांग्रेसले चुनावी तालमेलमा इमानदार भएर आफूलाई सहयोग गर्ने विश्वास राणाले व्यक्त गरेका छन् ।




प्रतिक्रिया