लालबाबु पण्डितको चुनावी एजेण्डा “प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर बनाउने”


विराटनगर, २२ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउने उद्घोष गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर, मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सामाजिक सद्भावको विकासका लागि आपूmले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
संयुक्त वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका पण्डितले बृहत्तर विराटनगरको विकासको अवधारणाअन्तर्गत प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर बनाउन दृढ संकल्पित रहेको उल्लेख गरे ।

पण्डितले विराटनगरलाई ‘शैक्षिक हब’(केन्द्र) को रुपमा विकास गरी क्यान्सर र हृदयरोग अस्पताल स्थापनाका लागि पहल गर्ने बताए । सोही क्षेत्रअन्तर्गत प्रदेश ‘क’ को वाम गठबन्धनका उम्मेदवार जीवन आचार्यले आफू निर्वा्चित भएमा शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रका साथै सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गराउनका ठोस पहल गर्ने वचनबद्धता प्रकट गरे ।

सोही क्षेत्रअन्तर्गत प्रदेश ‘ख’बाट वाम गठबन्धन उम्मेदवार रमेश पोखरेलले आफू सहकारीसँग जोडिएको उल्लेख गर्दै सहकारी, निजी र सार्वजनिक क्षेत्रको सहकार्य गराउन र सहकारी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ठोस रुपमा अगाडि बढाउने उल्लेख गरे ।

(रासस)