काठमाडौँ, १८ मंसिर । आपूर्तिमन्त्री जयन्त चन्दले नेपाल खाद्य संस्थानले दुर्गम क्षेत्रमा खाद्यान्नको उचित व्यवस्थापन गरेर राज्यको दायित्व पूरा गर्ने बताउनुभएको छ ।
नेपाल खाद्य संस्थानको ४३औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले उत्पादन धेरै भएका बेला खाद्यान्नको मूल्य घट्ने र उत्पादन घटेकोे बेला मूल्य वृद्धि हुने चर्चा गर्दै संस्थानले न्यायोचित मूल्य निर्धारण गरेर कृषकलाई न्याय दिनुपर्छ भन्नुभयो ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा उपभोक्ता कार्टेलिङको मारमा परेको बताउँदै मन्त्री चन्दले आफूलाई कार्टेलिङबाट मुक्त पारी संस्थानले सुपथ मूल्यमा उपभोक्तालाई खाद्यान्न उपलब्ध गराउने धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो ।
आपूर्ति सचिव अनिलकुमार ठाकुरले खाद्य संस्थानलाई परिवर्तित समयअनुसार पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै दुर्गम क्षेत्रका जनतालाई समयमै सेवा उपलब्ध गराउने तथा बजारमा न्यायोचित मूल्यको वातावरण सिर्जना गर्न संस्थानले ध्यान दिनुपर्ने बताउनुभयो ।
महाप्रबन्धक कुमारप्रसाद दाहालले दशकौँदेखि भूकम्प, बाढीपहिरोजस्ता प्रकोपमा परेका पीडित जनतालाई सेवा गर्दै आएको चर्चा गर्दै सरकारको संस्थानप्रति स्पष्ट दृष्टिकोण हुनुपर्ने औँल्याउनुभयो ।
सञ्चालक समितिका अध्यक्ष प्रकाशबहादुर केसीले खाद्य संस्थानको विकासका लागि संस्थान प्रतिबद्ध भई लागिरहेको बताउनुभयो ।
विसं २०३१ मा स्थापना भएको नेपाल खाद्य संस्थानले दुर्गम क्षेत्र, बाढी प्रकोपजस्ता पीडितलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने काम गर्दै आएको छ । रासस




प्रतिक्रिया