काठमाडौं, १८ मंसिर । उम्मेदवार लक्षित बम आक्रमणमा परि घाइते हुनुभएका कांग्रेस नेता तथा क्षेत्र नं ४ का उम्मेदवार गगन थापाले बम प्रहारबाट आफू संयोगले बाँचेको वताउनुभएको छ । चुनावी अभियानका क्रममा काठमाडौंको चपलीमा रहेका थापाको घरदैलो कार्यक्रम नजिक सोमबार बम विष्फोट भएको थियो ।
विष्फोटका कारण थापा सहित उहाँको अभियानमा रहेका ११ जना घाइते हुनु भएको थियो । घाइते मध्ये चारको अवस्था गम्भीर छ । घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बम विष्फोटबाट घाइते हुनुभएका थापाले आफूहरुको कार्यक्रमलाई लक्षित गरेरै बम विष्फोट गराइएको र त्यसबाट आफू संयोगले मात्र बाँच्न सफल भएको वताउनुभयो ।
घरदैलोमा हिंडेको समुहलाई अगाडि बढाउँदै गर्दा केही पाइला आफू अगाडि परेर बँचेको र पछाडि रहेका अभियन्ताहरु घाइते भएको उहाँले वताउनुभयो । घरदैलो निर्धारित समय भन्दा केही ढिलो भएकाले त्यसलाई छिटो अघि बढाउन खोज्दा आफू केही अघि पुगेको र त्यसै कारण आफू बचेको उहाँको भनाई थियो ।




प्रतिक्रिया