काठमाडौं, २० मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पार्टीका नेता भन्दापनि विकासप्रेमी नेतालाई मतदान गर्नुपर्ने बताए । “पार्टीका नेता भन्दापनि असल र विकास गर्ने नेतालाई मतदान गर्नुहोस्,”– डा. दिक्षितले भने ।
भोलि हुने निर्वाचन मुलुकलाई अघि बढाउनको लागि महत्वपूर्ण कसी हुने समेत उनको भनाई थियो । यद्धपी निर्वाचनको लागि वातावरण सहज नभएकोप्रति उनको गुनासो छ ।
निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘तर जनता सचेत हुनुहुन्छ, उर्लिएर मदतान गर्नुहुन्छ, गर्नुपर्छ पनि।’ उनले अबको निर्वाचनमा जनतामा भिजेको, विकासप्रेमी र भ्रष्टाचारमा नमुछिएको व्यक्तिलाई विजयी गराउन समेत मतदाताहरुसँग अपिल गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले थपे,‘संसदमा असल व्यक्ति आउनुपर्छ, अहिलेसम्म जे जति सरकार बने, तीनले सुशासन दिन सकेका छैनन, दलहरु सिद्धान्तमा अडिएका छैनन्, स्वार्थ नभएको व्यक्ति अब सदनमा जानुपर्छ।’ भोलिको निर्वाचनको लागि सुरक्षाको बलियो प्रबन्ध भएपनि जनता आँफैपनि सतर्क हुनुपर्ने दिक्षितले सुझाव दिए ।
उनले नेपाल अहिले विकाउमा रहेको समेत गुनासो पोख्दै भने,‘तपाई आम मतदाताहरु अब यो गठबन्धन वा त्यो गठबन्धन भनेर पछि नलाग्नुहोस्, असल मान्छे चुनेर पठाउनुहोस्, कुहिएको व्यक्ति नछान्नुहोस्।’
नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरेका छन् ।

उनले लोकतन्त्रको लागि पनि चुनाव आवश्यक भएकोले भोलि हुने मतदानमा जनता उत्साहपूर्वक रुपमा सहभागी हुने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया