नयनराजको निबन्ध ‘यार’ विमोचित


काठमाडौँ, पुस २९ : आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को आज यहाँ लोकार्पण गरियो ।

लेखकका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । आफ्ना जीवनयात्रामा साथीसँगका रोचक र विशेष अनुभूति समेटिएको सो पुस्तकमा २५ निबन्ध छन् ।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य नभई लेखकसँगको अन्तर्वार्ता प्रस्तुत गरेर नयाँ शैलीमा आयोजित सो कार्यक्रममा लेखकको हस्ताक्षरबाट पुस्तक लिन पाठकहरुको भीड देखिन्थ्यो ।

पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको हो । पाण्डेका यसअघि ‘उलार’, ‘लु’, ‘सल्लिपीर’, ‘घामकिरी’, ‘निदाएँ जगदम्बा’ आदि कृति लोकप्रिय छन् ।

आदर्श गुरु सम्मान मानन्धरलाई:

यसैबीच, कवि भीमदर्शन रोकाको स्मृतिमा स्थापित ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार, २०७४’ शिक्षासेवी बुद्धशरण मानन्धरलाई आज प्रदान गरियो । भीमदर्शन रोका स्मृति कोषद्वारा सञ्चालित पुरस्कारको राशि रु पचास हजार छ । मानन्धरले करिब चार दशक शिक्षण र यस क्षेत्रमा योगदान दिनुभएको छ ।

गीतकार कालीप्रसाद रिजालले सो पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रममा मातातीर्थ वृद्धाश्रम समितिलाई रु पचास हजार बराबरको सहयोग हस्तान्तरण समेत गरिएको थियो । पूर्वसांसद् लक्ष्मण राजवंशीले असल र जिम्मेवार नागरिक बन्न असल शिक्षकको छाप पाएको हुनुपर्नेमा जोड दिनुभयो ।