डा. गोविन्द केसीको टोली रौतहट पुगेर फर्कियो

0
Shares

धनराज वास्तविक: काठमाडौं, ७ माघ । डा. गोविन्द केसीको नेतृत्व टोलीले रौतहटका ३ सय बढि शीतलहरबाट प्रभावितहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै निशुल्क औषधी प्रदान गरेको छ । १४ औँ पटकको सत्याग्रहलाई स्थगित गरेर शीतलहरले आक्रान्त बनेको रौतहटमा पुगेका डा.केसीले आफ्नो खर्चमा स्वास्थ्य सिविर सञ्चालन गर्नुकासाथै न्यानो कपडा, १५० थान ब्लाङकेट, तीनसय घरपरिवारलाई तीनसय थान टोपी, ट्राउजर, स्विटर, ज्याकेट वितरण गरिएको डा.तोसिमा कार्कीले बताएकी छन् ।

रिपोर्टर्सनेपाल डटकमसँग डा. कार्कीले भनिन्, ‘स्वास्थ्य सिविरमा ३८५ जना स्वास्थ्य परिक्षण गर्नेकााम गरियो, औषधि प्रधान, साना बच्चाहरु चिसोका कारण बढि प्रभावित छन्, रुगा ज्वरोको समस्या बढि छ, वयश्कलाई हाडजोर्नी, महिलाहरुमा स्त्रीरोग भेटियो, प्राप्त औषधि लिएका थियौँ एकजना ६ महिनाको बच्चालाई निमोनिया भएको रहेछ, त्यहाँ भाषाको समस्या पनि देखियो, नेपाली, हिन्दी नबुझ्ने त्यस्तो स्थिति नेपाली जान्नेहरुलाईसँगै राखेर समस्या समाधान गरियो ।’

उनले अघि थपिन्, ‘सूरक्षाकर्मीहरुले पनि स्वास्थ्य सेवा लिनुभयो । स्वास्थ्य सम्बन्धि सचेतना निक्कै कमी छ, स्वास्थ्य चौकीहरुमा सरकारले निशुल्क उपलब्ध गराउने औषधी पनि छैन् । गर्भवतिलाई नियमित दिनुपर्ने आईरन क्यासिलय छैन् । यस्तो स्थितिमा सरकारले नै गम्भिर बन्नुपर्छ, हामीले लिएको राहत साम्रगी त सुख्खा पोखरीमा एक गिलास पानि खन्याय जस्तै भयो, सबै भन्दा गारो गढिमाई नगरपालिका निक्कै कष्टकर छ ।’

रौतहटमा शीतलहरबाट प्रभावितहरुको लागि चिकित्सक समाज नेपालले न्यानो कपडा कलेक्सन गरिरहेको बताउदै डा.कार्कीले भनिन्,‘हामीले रौतहटमा त्यहाँ जनताले भोगेको पिडा देखेर आएका छौँ, चिसोका कारण मानिस मरिहरेका छन्, यस्तो स्थितिमा हामीले साथ नदिए कसले दिन्छ ?’

डा.कार्कीले आफ्नो समाजिक सञ्जालमा लेखेकी छन्, ‘रौतहटमा हामी ३ दिन बस्यौँ तर एक पटक पनि घाम उदाएनन्। १ महिना देखिनै मौसम त्यस्तै रहेछ। दिनै भरि हुस्सु । कुहिरोले नजिकैको मान्छे, घर, गाडि पनि नदेखिने। सिम सिम पानी परेझैँ चिसो शित परिरहने। बेला बेला हावा हुरी झैँ बाक्लो शितलहर उडेर आउने । मुटु कमाउने जाडो। मानिसहरुको दिन आगो तापेरै बित्ने, चिसोले कठ्याङ्ग्रिएर अरु काम गर्न नसक्ने ।

गरिबिले निलेको रहेछ रौतहटका बस्तिहरु। चिसोकै कारण २४ जनाको मृत्यू भईसकेछ। हामी ‘डा. गोविन्द केसीको टोली’ ले कम्बल र केही न्यानो कपडा बाँड्यौँ तर बरफ जस्तो चिसिएको त्यो बस्ति हाम्रो सानो सहयोगले खै कति नै तात्यो होला र ? गरिबिले डसेर सम्वेदनहिन भएका केहि पिडित व्यक्तिहरु हामी त्याहाँ पुग्दा भावविवहल भई रुनुभयो । लाग्यो त्यो रुवाईले चिच्याई चिच्याई बस्तीकै निम्ति मानवताको न्यानो अँगालो गुहार्दै थियो ।

हाम्रो नेपाललाई गरिबिले कति सम्म पिरेको छ भनि छर्लङ्ग्याउने दयनिय दृश्य रहेछ रौतहटको गढिमाई नगरपालिकाको मुसहर बस्ती । न गाँस छ, न बाँस छ, न कपास छ , न चुलोमा दाउरा छ । गाई बस्तु पनि चिसोले भकाभक मर्नेे भएर बरु आफू नाङ्गिएरै भए पनि गाई वस्तुलाई बोरा ओडाईएको । बुढा भइसकेका हजुरबुवा समान जेष्ठ नागरिकहरु पातलो धोती र गाम्छा जस्तो सल मात्र ओडेर, काम्दै हिँडिरहेका । न चप्पल छ खुट्टामा । न टाउकोमा टोपी ।

हामीले दिएको एउटा कम्बलले उनका परिवारलाई खै कतिलाई न्यानो बनायो होला र । हामीले लगेको न्यानो कपडाले खै कतिको आङ ढाक्यो होला र ? पुरै गाउँ बस्ती नै पिडित छ। उसलाई हेर्यो उसलाई दिउँ जस्तो। अर्कोलाई हेर्यो त्यस्तै बिजोग । आफुले लगाएको टोपी जुत्ता ज्याकेट नै खोलेर दिउँ जस्तो , तर कसलाई दिनु ? कसलाई नदिनु ? सबै नाङ्गै छन् । सबै कठ्याङ्ग्रिएका छन् । त्यसै मरेका हैन रैछन् याहाँ शितलहरले मानीसहरु घाम छैन, घरमा छानो छैन,बाल्ने दाउरा छैन, शरिरमा कपडा छैन, ओढ्न कम्बल छैन, शितले भिजेर हिलो भएको भुँईमा पराल मात्र ओछ्याएर सुत्ने रहेछन्। खै कसलाई के दिनु के नदिनु । मन नराम्रो सँग कुँडियो ।

तर आउने बेला आफुलाई एक वचन दिएर आए । अरु केहि गर्न नसके नि, काठमडौँ शहरमा साथी भाई ईष्ट मित्रका घरका दराजमा थन्किएका कम्बल तथा कपडाहरु अवश्य पनि सक्दो चाँडो म रौतहटको यो मुसहर गाउँमा पुर्याउनेछु । अस्ति सुस्ताबासीको लागि सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिदै बिन्ति गर्न चाहन्छु ।

कृपया रौतहटको मुसहर बस्तिको लागी

स्विटर, ज्याकेट, कम्बल, सुरुवाल, टोपी, अदि ईत्यादि सहयोग गर्दिनुहोला हामी त्याहाँ नयाँ टोपी, चप्पल, थर्मोकोटहरु पनि किनेर पठाईदिन चाहन्छौँ । त्यसैले हामीलाई आर्थिक रुपमा पनि सहयोग गर्न सक्नु हुनेछ । हरेक सहयोगि मनहरुलाई स्वागत छ ।’ उनले न्यानो कपडा संकलन राष्ट्रिय ट्रमा सेन्टरमा भईरहेको जानकारी दिएकी छिन् ।

तस्बिर डा. तोशिमा कार्की