काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहाँसिक भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर भारत र चीनसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध पञ्चशील र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा अघि बढ्ने भएकोले एक देशले अर्को देशलाई सम्मान गर्दै आपसी हित अनुसार नै अघि बढ्ने बताए ।
उनले भने,‘नेपाल र भारतवीच सामाजिक–साँस्कृतिक सम्बन्ध जो छ, क्षेत्रिय सम्बन्ध छ, त्यसलाई निरन्तरत दिनुपर्छ, द्धिपक्षीय सम्बन्धमा देखिएका सन्धिसम्झौतादेखि सिमा विवादका समस्याहरुलाई भारतीय पक्षले चासो लिएर हल गर्नुपर्छ।’
नेता पौडेलले दुई देशवीचको सम्बन्ध सुधारमा प्रयासहरु भैरहेको पनि विश्वास व्यक्त गर्दै भने,‘अहिले सम्बन्ध सुधारको लागि प्रयासहरु भैरहेका छन्, नेपालले भन्दापनि भारतीय पक्षले पहलकदमी लिँदा अझ धेरै राम्रो हुन्छ,।’
अब बन्ने नयाँ सरकारले समृद्धि, सुशासन र विकास हाँसिल गर्नको लागि दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नेगरि प्राथमिकता राख्नुपर्ने उनको भनाई थियो। आउने सरकारले संयमता अपनाउनुपर्नेमा पौडेलले जोड दिए ।




प्रतिक्रिया