फागुन २२, काठमाण्डौ । पछिल्लो समय राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नै राजपालाई सरकारमा आउन आग्रह गरेका थिए ।
तर अहिलेसम्म ठोस छलफल र सहमति भएको पाइदैन । राजपाका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीसँग कुराकानी भए पनि सहमति वा निष्कर्ष केही नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले सरकारले मधेशको मुद्दा वा संविधान संशोधनको विषयमा ठोस धारणा ल्याउन आफूहरुले सरकारलाई आग्रह गरेको बताए ।
तर सरकारले अहिलेसम्म केही धारणा नदिएको उनले बताए । सरकारका तर्फबाट सरकारमा सहभागि हुन आग्रह मात्रै गरिएको उनको भनाई छ ।
विगतमा पनि फोरम र राजपाले संविधान संशोधनको मुद्दा अघि सारेको स्मरण गराउँदै यादवले अहिले पनि विशेष छलफल नभएको बताए ।
उनले अहिलेको समयमा राजपाको मुख्य मुद्दा संविधान संशोधन नै भएको भन्दै सरकारमा सहभागि हुने कुरा प्राथमिकतामा नरहेको बताए ।
“हाम्रा मागका बारेमा ठोस धारणा आएपछि मात्रै सरकारमा सहभागि हुने विषयमा छलफल हुन्छ ।” यादवले भने ।
उपेन्द्र यादवलाई सरकारमा जानबाट रोक्नका लागि अस्त्र प्रयोग गर्न लागेको हो भन्ने धमलाको प्रश्नमा यादवले त्यसको खण्डन गर्दै भने, “हामीले कसैलाई रोक्नका लागि अस्त्र प्रयोग गरेका छैनौँ ।”




प्रतिक्रिया