काठमाडौं, १७ वैशाख । पदाधिकारी मनोनयन गर्नेबारे छलफल गर्न आज डाकिएको नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक स्थगित भएको छ।
नेता रामचन्द्र पौडेल पक्षधरले विरोध गरेपछि सहमति खोज्न भन्दै बैठक २१ गतेसम्मलाई स्थगित भएको हो। काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘महामन्त्रीले सभापतिलाई सहमति खोज्न केही दिन बैठक सारौं भन्ने प्रस्ताव गरेपछि बैठक स्थगित भएको हो ।’
यसअघि आइतबार सकिएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्न आज बैठक गर्ने बताएका थिए। नेता पौडेल पक्षले महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारी नियुक्ति गर्नु पर्ने पार्टी विधानको व्यवस्था उल्लेख गर्दै अब ती पद नै नरहेको जिकिर गरेका थिए।




प्रतिक्रिया