काठमाडौं २१ बैशाख ।
प्रदेश मन्त्रालयमा केन्द्रीय दुई मन्त्रालयबाट स्वास्थ्यका कर्मचारी खटाइएपछि समस्या उत्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै ठाउँमा छुट्टाछुट्टै कर्मचारी पठाएका हुन् ।
अहिले १ र २ नम्बर प्रदेशमा दुवै मन्त्रालयबाट कर्मचारी पुगेका छन्। यसअघि संघीय मामिलाले स्वास्थ्यलाई पत्र पठाएर प्रदेशमा कर्मचारी पठाउन भनेको थियो। त्यहीअनुसार स्वास्थ्यले कर्मचारी पठाउँदा त्यसअघि नै संघीय मामिलाले पठाएका कर्मचारी पुगिसकेका थिए।
दुई मन्त्रालयबीच समन्वय नहुँदा दरबन्दीभन्दा बढी कर्मचारी प्रदेश मन्त्रालयमा हाजिर हुन पुगेका हुन्।
स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालका अनुसार संघीय मामिलाले सम्बन्धित सेवाका कर्मचारी स्वास्थ्यले नै व्यवस्थापन गर्ने भनेर पत्र पठाएको थियो। ‘पत्र आएपछि हामीले १५ दिन गृहकार्य गरेर कर्मचारी प्रदेश मन्त्रालयमा पठाएका हौं,’ उनले भने, ‘त्यही ठाउँमा संघीय मामिलाले पनि पठाएछ, कर्मचारी बढी भयो भनेर गुनासो आएको छ। बढी गुनासो १ र २ प्रदेशबाट आएको छ।’
‘कर्मचारी पठाएको टिप्पणी फाइल अगाडि छ, संख्या गनेर पठाएका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘संघीय र स्वास्थ्य दुवै मन्त्रालयबाट कर्मचारी आए भन्ने गुनासो छ।’ प्रदेश मन्त्रालयमा स्वास्थ्यका ११ जनाको स्वीकृत दरबन्दी छ। यसमध्ये १०/१० जना पठाइएको खनालले बताए।
‘मेडिकल अधिकृत एक जना पठाउन भनिएको थियो, मेडिकल अधिकृत तत्काल उपलब्ध नभएर १० जनाका दरले पठायौं,’ खनालले भने, ‘अरू पद मिल्ने गरी पठायौं तर सामान्यले त्यही ठाउँमा कर्मचारी पठाएपछि दोहोरिएको हो।’
अहिले २ नम्बर प्रदेशमा २ जना र १ मा २ जना बढी भयो भन्ने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्यले ७ वटै प्रदेशमा कर्मचारी पठाइसकेको छ। संघीय मामिलाले पठाएका कर्मचारी पनि हाजिर भइसकेका छन्। ‘सामान्यले कर्मचारी पठाउने बेला स्वास्थ्यलाई जानकारी भएन,’ उनले भने, ‘हामीले त पत्रअनुसार नै कर्मचारी पठाएका हौं।’
प्रदेश २ स्थित सामाजिक विकास मन्त्रालयका सचिव किरण रुपाखेतीका अनुसार ४ जनाको दरबन्दीमा ६ जना कर्मचारी आएका छन्। ‘संघीय मामिलाबाट पहिला नै कर्मचारी आएका थिए, स्वास्थ्यबाट ढिलो आए,’ उनले फोनमा भने, ‘दरबन्दीभन्दा धेरै कर्मचारी भएका विषयमा स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेका छौं।’
उनले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राख्न नमिल्ने बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार प्रदेशमा जति कर्मचारी मागिएको छ, त्यति नै पठाइएको हो।
‘हामी धेरै कर्मचारी पठाउन चाहन्छौं, संघीय मामिला थोरै पठाउनू भन्छ,’ उनले भने, ‘क्षेत्रीय निर्देशकलाई त्यहीँ पठाउन चाहन्छौं, गाडी र घर दिन चाहन्छौं।’ ‘स्वास्थ्यले पठाएको ठाउँमा संघीय मामिलाले पठाएको भए त्यो गलत हो, स्वास्थ्यको कर्मचारी स्वास्थ्यले नै पठाउनुपर्छ,’ उनले भने, ‘यसबारे मन्त्रालयमा बुझेर संघीय मामिला मन्त्रालयलाई ध्यानाकर्षण गराउनेछौं।’
कान्तिपुरबाट




प्रतिक्रिया