वैशाख २१, काठमाण्डौ । आज पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफूमाथि अन्याय भएको बताएका छन् ।
रिपोर्टर्सनेपालडटकमसँग कुरा गर्दै महासचिव सिटौलाले पत्रकारलाई आफ्नो धारणा दिनका लागि जाँदै गर्दा बाटैबाट गिरफ्तार गरिदा आफ्नो नैसर्गिक अधिकार हनन् भएको उनको तर्क छ ।
“पत्रकारले बोलाएर कुरा गर्न जाँदा पक्राउ पर्नु दुःखदायी घटना हो । म कष्टडीबाट बोल्दै छु । बोलाएको भए म आफैँ जान्थेँ ।” सिटौलाले भने ।
आफूहरु सरकारसँग वार्ता गरेर समस्या समाधानका लागि तयार हुँदा हुँदै पक्राउ गरेर निरङ्कुशतावादी प्रवृत्ति देखाएको उनको आरोप छ । “हामी राष्ट्रघाति त होइनौँ नि । छलफलबाट निकास निकाल्न तयार थियौँ ।” उनले भने ।
रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै सिटौलालाई पक्राउ गरेको हो ।
सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा राखेको छ ।
क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए । धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएका थिए ।
गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो ।




प्रतिक्रिया