अनेरास्ववियूको नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक


वैशाख २६, काठमाण्डौ । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।

अनेरास्ववियूको महाधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् । लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले गृहकार्य सुरु गरेका छन् ।

अनेरास्ववियूको स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरेको थियो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा आयोजना हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचनबाट अध्यक्ष चयन गरिने स्रोतले जनाएको छ । अध्यक्ष नवीना लामाले केन्द्रीय कमिटीमै आफ्नो राजीनामा पेश गर्ने सम्भावना छ ।