मोदी स्वागतमा जनकपुरमा उर्लियो मानवसागर


जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले केर बेरमा जनकपुर आउँदैछन् । मोदीको स्वागतको लागि प्रदेश नम्बर २ का जनताहरुको यतिवेला जनकपुरमा ओईरो लागेको छ ।

वास्तवमा भन्ने हो भने जनकपुर यतिवेला मोदीमय बनेको छ । जताततै मोदीका फोटो राखेर ब्यानर, तुल र ठूला ठूला पोष्टरहरु टाँगिएका छन् । मिथिला झल्किने आर्टहरु समेत भित्तामा कोरिएका छन । गल्लीहरु सफाचट देखिएका छन् ।

मोदीलाई नागरिक अभिनन्दन गरिने १२ विघा स्थल अर्थात रंगभुमी मैदानमा यतिवेला जनताको विशाल उपस्थिति रहेको छ ।  प्रधानमन्त्री मोदी भारतीय वायुसेनाको हेलिकप्टरबाट शुक्रबार बिहान १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।

मुख्यमन्त्री राउतले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार मोदी विमानस्थलमा अवतरण गरेपछि त्यहाँ सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । विमानस्थलमा केहीबेर विश्रामपछि मोदी गाडीबाट जानकी मन्दिर पुग्नेछन् । जानकी मन्दिरबाट ११ बजेर २५ मिनेटमा रंगभूमि मैदान पुग्ने मोदीलाई त्यहाँ नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोदीको नागरिक अभिनन्दनका लागि रंगभूमि मैदानमा विशाल मञ्च र पण्डाल निर्माण गरिएको छ । उनी दक्षिणी ढोकाबाट मैदान प्रवेश गर्नेछन् । मैदानको उत्तरी ढोका सर्वसाधारणका लागि शुक्रबार १० बजेसम्म खुला रहने मुख्यमन्त्री राउतले बताए । मोदी आउनुअघि रंगभूमि मैदानमा मैथिली र भोजपुरी संस्कृति झल्किने झाँकी र गीतसंगीत प्रस्तुत गरिने छ ।